भोजपुरः भोजपुर जिल्लाका २ स्थानीय तहका ४ वटा वडालाई चिराइतो मुख्य क्षेत्र बनाइने भएको छ । जडीबुटी खेतीका लागि राम्र्रो क्षेत्र मानिएका टेम्केमैयुङ्ग –१ तिम्मा, ५ खावा र भोजपुर नगरपालिका ३ गुप्तेश्वर र ४ सिद्धेश्वरलाई चिराइतो मुख्य क्षेत्र बनाइँदैछ ।

चालु आर्थिक वर्षको सबैभन्दा बढी लगानी जडीबुटीमा खर्च गर्ने योजना बनाएर काम थालिएको डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले जनाए । जिल्ला जडीबुटी फोकल समितिको निर्णयानुसार आमचोक र हतुवागढी क्षेत्रमा टिमुर खेतीका लागि मुख्य क्षेत्र बनाइएको छ ।

चिराइतो, सतुवा, तेजपात, लोठ सल्ला, खिरौला, टिमुरलगायतका जडीबुटीमा बढी लगानी गर्न लागिएको कार्यालयले जनाएको छ । स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती र साझेदारी वनलाई लक्ष्य गरेर खेती गर्न लागिएको साहले बताए ।

कार्यालयले जडीबुटीको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणका लागि अनुदान सहयोग दिने जनाएको छ । किसानको माग र आवश्यकताका आधारमा अनुदान दिन लागिएको हो । साथै सहकारीसँंगको सहकार्यमा जडीबुटी सङ्कलन केन्द्र समेत स्थापना गरिने भएको छ ।

यस वर्ष भोजपुरबाट ५७ हजार केजी चिराइतो निकासी भएको छ । त्यस्तै सतुवा तीन हजार ५ सय र अर्घेली १० हजार केजी निकासी भएको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । मूल्यमा उत्तरचढाव आए पनि यसको खेतीमा भने वृद्धि नै हँुदै आएको वन कार्यालयले जनाएको छ ।