बेलबारीः बेलबारी नगरपालिकाको तेस्रो नगरसभाले ८ नम्बर वडामा रहेको पेट्रोलखानीको अन्वेषण तथा अध्ययन गरी उत्खनन कार्य अघि बढाउन सङ्घीय सरकारसँग माग गरेको छ ।

धेरै वर्षदेखि अनवेषण गर्ने चर्चा भए पनि अहिलेसम्म पेट्रोल रहेको÷नरहेको भन्ने अन्योल रहिरहेका बेला नगरसभामार्फत् नगरपालिकाले सङ्घीय सरकारसँग उत्खननको लागि माग गरेको हो । गौचरनमा परिणत भएको पेट्रोलखानीको अध्ययन गरी बजेट विनियोजन गर्न समेत माग गरिएको छ ।

यस्तै, लोहन्द्रा चिसाङ खोलामा तटबन्ध गर्न समेत माग गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारमा समेत नगरसभाले चासो देखाएको छ । सभाले नगरभित्रका प्रमुख पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउने विश्वाससमेत व्यक्त गरेको छ ।

सिमसार क्षेत्रको संरक्षण गर्नसमेत माग गरेको छ । नगरसभाले रमिते पर्यटकीय स्थल र सृजना पार्कको संरक्षण तथा विकास गर्न समेत माग गरेको छ । सुकुम्बासी समस्या समाधान, खेलकुद क्षेत्रको विकासका लागि कभर्ड हल रङ्गशाला निर्माण र कृषि क्षेत्रको विकासका लागि शीतभण्डार केन्द्रको निर्माण गर्न माग गरेको छ । १ हजार सिटको अत्याधुनिक सभागृह निर्माण गर्न बजेटको व्यवस्थापन गरिदिन समेत नगरसभाले माग गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यसैगरी, नगरभाले गरीबसँग नगरपालिका कार्यक्रममा सहकार्य गर्न प्रदेश सरकारसँग माग गरेको छ । गरीबसँग नगरपालिका कार्यक्रम नगरले गौरवको कार्यक्रमका रूपमा लिएको छ । उक्त कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा रहेको मेयर सुवेदीले बताए । सभाले हुलाकि राजमार्ग सडक पिच गर्न समेत माग गरीएको मेयर सुवेदीले बताए ।

सभाले पूर्वाधार विकास तथा दैनिक सेवा सञ्चालन व्यवस्थित गर्न बनेको विधेयक २०७५ समेत बहुमतले पारित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खड्काले बताए । नगर कार्यपालिकाको निर्णयसमेत नगरसभाले पारित गरेको खड्काले जानकारी दिए ।

nagar sava 2 nagar sava 3