धरानः साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रिम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ ।
सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिएका छन् । ११ सदस्यीय नेटवर्कमा पछि ४ सदस्य थप हुने बताइएको छ । यो नेटवर्कले प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलकुदको विकास, विस्तार र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर समन्वयकारी काम गर्ने माउन्टेन्ट स्पोर्टस् फेडरेशनका अध्यक्ष गोविन्द भट्टराईले बताए । पर्यटन वर्ष २०२० लाई लक्ष्य गरेर काम गर्न नेटवर्क बनाइएको बताइएको छ ।
धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन् भन्ने विषयमा छलफल गरेपछि उक्त नेटवर्क बनाइएको हो । १६ वटा साहसिक खेलमध्ये धरानमा ५÷६ वटा खेल हाल पनि सञ्चालन भइरहेको बताइएको छ ।
धरानमा हाल साइक्लिङ, प्याराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जीप, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । केही खेल निजी स्तरबाट भइरहेका छन् । यी खेललाई व्यापक बनाएर प्रदेश नं १ मा वार्षिक १ लाख पर्यटक भित्र्याउन सकिने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी बताउँछिन् ।