विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा मङ्गलबार बिहान छलफल भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भए पनि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री दाहालले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानुनलगायत थुप्रै कार्य गरेको बताए । उनले प्रदेशको अधिकार खोस्ने कार्य सङ्घीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको बताए । अध्यक्ष दाहालले पृथकतावादी आन्दोलनमा लागेका सिके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीसँग पार्टी एकतालाई अन्तिम रूप दिन बालुवाटरमा छलफल भएको बताउँदै आगामी एक÷दुई दिनभित्र यसको टुङ्गो लाग्ने जनाए । नेकपाका दुई अध्यक्षबीचको समझदारीबाट पार्टी सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले आफूहरूबीच कुनै असमझदारी नभएको बताए ।