पाँचथरः पाँचथर जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बजार क्षेत्रका कोही पनि सेवाग्राही पुग्दैनन् । आकस्मिक बाहेकका कक्षमा अवस्था त्यस्तो छ ।
फिदिम नगरपालिका वडा नम्बर १, २, ४ सहितका बासिन्दा सो अस्पतालको आकस्मिक कक्षमा पुगे पनि अरु कक्षमा पुग्दैनन् । गत बुधबार हर्कवीर राई ८० वर्षको उमेरमा अस्पताल पुगेका हुन् । इलामको देउमाइ नगरपालिका २ का राईलाई उपचारका लागि त्यहाँ लगिएको हो ।
फाल्गुनन्द गाउँपालिका ७ का सुमन आङदेम्बे उपचारकै लागि जिल्ला अस्पताल पुगे । याङ्वरक गाउँपालिकाबाट बच्चाको उपचारका लागि आएकी सोनीकुमारी पनि ग्रामीण क्षेत्रकै हुन् । उनीहरूसँगै बुधबार मात्रै १६ जना बिरामी बेडमा भेटिए । उनीहरू सबै ग्रामीण क्षेत्रका थिए ।
जिल्ला अस्पतालको आकस्मिक बाहेकका अन्य जुनै पनि कक्षमा ग्रामीण क्षेत्रका मात्रै बिरामी भेटिन्छन् । सदरमुकामका कोही पनि जिल्ला अस्पताल पुग्दैनन् । लामो समयदेखिको तथ्याङ्कले सोही कुरा देखाएको अस्पताल प्रमुख डाक्टर बुद्धिबहादुर थापाले स्वीकारे ।
आकस्मिक कक्षमा मात्रै औसतमा दैनिक ३० जना बिरामी आउँछन् । आकस्मिक कक्षमा भने केही सङ्ख्यामा फिदिम क्षेत्रका बासिन्दा पुग्ने गर्छन् । अरु सेवामा यहाँका बासिन्दाको नाम दर्ता छैन ।
जिल्ला अस्पताल विगतमा पूर्वी पहाडमा गुणस्तरीय सेवा दिने अस्पताल मध्येमा गनिन्थ्यो । समग्र पाँचथरसँगै तेह्रथुमको आठराई क्षेत्र र ताप्लेजुङको केही क्षेत्रका बासिन्दाको लागि जिल्ला अस्पताल पाँचथर भरपर्दो स्वास्थ्य संस्था थियो । पछिल्लो समय अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ ।
अत्याधुनिक उपकरण, दक्ष जनशक्तिको कमीका कारण जिल्ला अस्पताल पुग्ने नागरिक कम हुँदै गएको बताइन्छ । स्थापनाको लामो समयसम्म पनि सेवामा स्तरवृद्धि हुन नसकेपछि समस्या भएको हो । यहाँ आउने धेरै बिरामी अर्को अस्पतालका लागि पठाइन्छन् । उपचार गर्ने राम्रो प्रबन्ध नभएपछि उनीहरू रेफर हुने गरेका छन् ।
नियमित आकस्मिक कक्षमा आउने बिरामीको सङ्ख्या घट्दो क्रममा छ भने ओपीडीमा पनि बिरामी आउन छाडेका छन् । पछिल्लो समय जिल्लामा निजी अस्पताल खुल्ने क्रम बढेका कारण पनि पाँचथरवासीले सरकारी अस्पतालमा सेवा लिन छाडेका छन् ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाका अनुसार अस्पतालमा ग्रामीण क्षेत्रका बासिन्दाको उपस्थिति धेरैै छ ।
प्रसूति गराउने पनि घटे
प्रसूति सेवाका लागि गुणस्तरीय अस्पताल भनेर नाम कमाएको यो अस्पतालमा पछिल्लो समयमा प्रसूति गराउने पनि घटिरहेका छन् । यो क्षेत्रमा प्रसूति सेवाका लागि सुविधा सम्पन्न अस्पताल छैन । भएका अस्पतालमा पनि प्रसूति गराउन आउनेको सङ्ख्या घटिरहेको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा ७ सय १० जनाले प्रसूति गराएका थिए । आर्थिक वर्ष ०७१÷०७२ मा ८ सय ४ जनाले प्रसूति गराएका थिए । आर्थिक वर्ष ०७२÷०७३ मा ९ सय ७९ जनाले प्रसूति गराएका छन् । आर्थिक वर्ष २०७३÷७४ मा ७ सय ७९ जनाले प्रसूति गराएको तथ्याङ्क अस्पतालसँग छ । गत आर्थिक वर्षमा ७ सय २९ जनाले मात्रै त्यो सेवा लिएका छन् ।
अन्य सेवामा प्रत्येक वर्ष सेवाग्राहीको सङ्ख्या बढिरहेको भए पनि प्रसूति गराउनेको सङ्ख्या भने घटिरहेको अस्पताल स्रोतको भनाइ छ । अपरेशनमार्फत् प्रसूति गराउनेको सङ्ख्या पनि घट्दो क्रममा देखिएको अस्पतालले जनाएको छ ।