धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बीपी दास, रजिष्टार तुलबहादुर श्रेष्ठ र पूर्व अस्पताल निर्देशक अरबिन्दकुमार सिन्हाले अक्सिजन तथा मेडिकल सामग्री खरीदमा झण्डै २३ करोड हिनामिना गरेको रहस्य खुलेको छ ।
प्रतिष्ठान स्रोतका अनुसार पूर्व उपकुलपति दास, रजिष्टार श्रेष्ठ र अस्पताल निर्देशक सिन्हाले प्रतिष्ठानमा अक्सिन उत्पादन गर्ने प्लान्ट हुँदाहुँदै सुनसरीको दुर्गा अक्सिजन नामक कम्पनीबाट दैनिक ६० देखि ७० हजार रुपैयाँको अक्सिजन खरीद गरेको रहस्य खुलेको छ ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई प्रयोग गरिने अक्सिजनमा पनि घोटाला भएको रहस्य बाहिर आएपछि पूर्व पदाधिकारीहरूलाई कारबाही गर्न माग हुन थालेको छ । पूर्व उपकुलपति दास, रजिष्टार श्रेष्ठ र निर्देशक सिन्हा प्रतिष्ठानका ४ जना कार्यकारी सदस्य मध्येका ३ जना हुन् ।
यस्तो छ अक्सिजनको सेटिङ
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीका लागि दैनिक करिब ६ देखि ७ सिलिण्डर (ठूलो) अक्सिजन आवश्यक पर्छ । प्रतिष्ठान आफैसँग अक्सिजन उत्पादन गर्ने प्लान्ट थियो ।
सो प्लान्ट बिग्रिएपछि तत्कालीन उपकुलपति दास, रजिष्टार श्रेष्ठ र निर्देशक सिन्हाले अक्सिजन प्लान्ट नयाँ किन्ने प्रक्रिया थालेका थिए । सार्वजनिक खरीद नियमावली अनुसार कुनै वस्तुको खरीद गर्नुपूर्व त्यसको सम्भाव्यता अध्ययनका साथै उपयोग र खर्च गर्ने स्रोतको पहिचान गरी सार्वजनिक सूचना जारी गर्नुपर्छ ।
तर, प्रतिष्ठानमा कुनै पनि प्रक्रिया पूरा नगरी तत्कालीन उपकुलपति दास र रजिष्टार श्रेष्ठले आफूनिकटको कम्पनीबाट प्लान्ट किने । प्रतिष्ठानमा प्लान्ट जडान गरेर अक्सिजन उत्पादन गर्नु साटो बाहिरबाट अक्सिजन किन्ने क्रम निरन्तर जारी भयो । दास, श्रेष्ठ र सिन्हाले सार्वजनिक खरीद नियमावली र प्रतिष्ठानको आन्तरिक सिस्टमलाई बन्धक बनाएर मेसिन बेच्ने कम्पनीबाट मेसिन जडान नगरी सबै रकम एकै पटक भुक्तानी दिएका छन् ।
सामान्यत मेसिन बिक्रेतालाई मेसिन जडान गरेर चालु भएपछि ७० प्रतिशत र वारेन्टी सकिएपछि ३० प्रतिशत भुक्तानी दिनुपर्ने हुन्छ । भुक्तानी दिने बेलामा प्राविधिकहरूको राय र मेसिनको अवस्थाका मारेमा समेत जानकारी लिएर भुक्तानी दिनुपर्ने हुन्छ । यो विषय अख्तियारसम्म नपुगेका कारण गोप्य रहँदै आएको थियो ।
प्रष्तिष्ठानबाट अक्सिजन प्लान्ट हेर्ने इन्जिनियर राहुल मिश्र समेतको संलग्नतामा प्रतिष्ठानमा ल्याइसकिएको प्लान्ट जडान नगरेर बाहिरबाट अक्सिजन किनेर घोटला गरिएको देखिन्छ । प्रतिष्ठानका हालका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले मेसिन ल्याउने कम्पनीलाई कालो सूचीमा राखेर धरौटी जफत गर्ने बताएपछि कम्पनीले आएर मेसिन जडान गरेको थियो ।
गत असोजदेखि प्रतिष्ठानले आफैँ अक्सिजन उत्पादन गर्दै आएको छ । अस्पताल निर्देशक शाहले भने प्रतिष्ठानभित्रको आन्तरिक विषय भएको भन्दै यस विषयमा केही बोल्न चाहेनन् । तर शाहले इन्जिनियर मिश्रलाई जिम्मेवारीबाट हटाएर अक्सिजन प्लान्ट शुरु गरेको स्रोत बताउँछ ।
केकेमा भयो २३ करोड भुक्तानी ?
पूर्व उपकुलपति दास, रजिष्टार श्रेष्ठ र निर्देशक सिन्हाले अक्सिन प्लान्ट खरीद, अप्रेसन थिएटरको मनिटर खरीद, भेन्टिलेटर खरीद, डेन्टल चेयर खरीदमा विभिन्न कम्पनीलाई एकै पटक २३ करोड भुक्तानी दिएका छन् । ती कम्पनीहरूले सम्पूर्ण भुक्तानी पाएपछि प्रष्ष्ठिानका कुनै पनि मेसिन जडान गरेका थिएनन् । यो भुक्तानी प्रक्रिया र खरीद प्रक्रियाबाट प्रस्ट रूपमा नीतिगत र आर्थिक भ्रष्टाचार भएको स्पष्ट हुन्छ प्रतिष्ठानको सूचना स्रोत भन्छ ‘यो विषय अख्तियारमा पुगेको छैन । यसलाई पनि अख्तियारले छानबिनको दायरामा ल्याउनुपर्छ ।
पोल खुल्ने डरले बर्खास्तको राजनीति
प्रतिष्ठानबाट बिनाप्रक्रिया र हचुवाको भरमा सामान खरीद र रकम भुक्तानीमा संलग्नहरूमध्ये अहिले बहालमा भएका रजिष्टार तुलबहादुर श्रेष्ठ मात्र हुन् ।
त्यसबेला भएका घोटाला बाहिर आउने र यसमा आफूहरूलाई अहिलेका उपकुलपतिले सहयोग नगर्ने भएपछि उनीहरू डराएको स्रोतको भनाइ छ । हालका उपकुलपति प्राडा राजकुमार रौनियारलाई हटाएर आफ्नो गुटका डाक्टर तथा हालका रेक्टर गुरुप्रसाद खनाललाई उपकुलपति बनाएर घोटाला र अनियमितता ढाकछोप गर्न उनीहरू चाहन्छन् ।
आगामी १ महिनामा कार्यकाल सकिन लागेका रजिष्टार पनि घोटलाका पोलहरू खुल्ने भएपछि पुनः दोस्रो कार्यकाल रजिष्टार हुन लबिङ गरिरहेका छन् । उनीहरूलाई नेकपाका केही ‘मनि करप्टेड’ नेताहरूले पनि साथ दिएको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् ।

















