इलामः इलामको फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन् । वडामा उनले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुपरेको छ ।

त्यस्तै, फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी छिन् । गरीबसँग विश्वेश्वर कार्यक्रमकी सामाजिक परिचालक राईले वडा सचिवको भूमिका निर्वाह गर्नुपरेको हो ।

गाउँपालिका घोषणा भएको झण्डै २ वर्ष पुग्नै लाग्दा पनि जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिकाका सात वटा वडामध्ये तीन वडामा मात्र सचिव छन् । अन्य वडामा अन्य कर्मचारीले दुईतिरको जिम्मेवारी निर्वाह गर्नुपरेको छ । जसले गर्दा दैनिक कार्यसम्पादनमा पनि समस्या भएको छ । गाउँपालिकाका अधिकांश वडा नयाँ भएकाले वडा भवन बन्न ढिलाइ हुँदा भाडाको घरमा मुस्किलले काम चलाउनुपर्ने बाध्यता छ ।

फाकफोकथुम गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन् । गाउँपालिकाको क्षेत्र ठूलो र कर्मचारी कम हुँदा काम गर्नै कठिन भएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी बताउँछन् ।

योजना छनोटदेखि डिजाइन स्टमेट र भुक्तानीसम्म नै प्रभावित भएपछि कार्य योजनाअनुसार विकासका गतिविधि बढाउन कठिन भएको उनले बताए । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर, अधिकृतसहित ३३ वटा स्वीकृत दरबन्दी रहे पनि हाल ३ जना अधिकृतसहितका १६ वटा दरबन्दी खाली रहेको प्रशासकीय अधिकृत सुवेदीले बताए । सरकारले कर्मचारी समायोजन गरे पनि अहिलेसम्म यस गाउँपालिकामा कोही पनि कर्मचारी आएका छैनन् ।

जतिसक्दो चाँडो कर्मचारीको व्यवस्थापन गरेर कार्य सम्पादनलाई सहज बनाउन माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । करीब रु १० करोड विकास खर्च रहेको यस गाउँपालिकामा अहिलेसम्म १० प्रतिशत मात्र प्रगति भएको छ । केही योजना कार्यान्वयन चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।