धरानः सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाहरूको जमातले लिम्बुवान स्प्रिङ आन्दोलनको घोषणा गरेको छ । लिम्बुवानविरोधी गतिविधि बढेकाले प्रतिरोधका लागि आन्दोलन घोषणा गर्नुपरेको उनीहरूले बताएका छन् ।

ती युवाको समूहले एक प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान स्प्रिङ आन्दोलनमा स्वतःस्फूर्त रूपमा लिम्बुवान युवा अभिायनकर्मीहरू सामेल भएको प्रष्ट पारेका छन् । विभिन्न सङ्घ सङ्गठनहरूमा आबद्ध र स्वतन्त्र गरी ४ दर्जन बढी अभियन्ताहरूको नामावलीसहित सार्वजनिक गरिएको विज्ञप्तिमा ‘लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकाले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आह्वान गर्दर्छौँ’ भनिएको छ ।

आन्दोलनमा लिम्बुवान सङ्गठनमा आबद्ध कार्यकर्ताका साथै सत्ता पक्ष निकट अभियानकर्मीहरूको पनि बाहुल्यता रहेको बताइएको छ । लिम्बुवान आन्दोलन चर्किरहँदा गुमनाम भएका अभियान र निर्जीव नामहरूलाई अगाडि सारेर ऐतिहासिक पहिचानलाई धराप पार्न लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकाले प्रतिरोधको अभियानमा सामेल हुन सो विज्ञप्तिमा आह्वान गरिएको छ ।

लिम्बुवान स्प्रिङ आन्दोलबारे आफ्नो अवधारणा र औचित्य चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको अभियन्ता टंक सेलिङले बताए ।