विराटनगरः विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताएका छन् ।

ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको शिलान्यास गर्दै उनले निर्माण गरिने भवनका लागि रु १० लाख निकासासमेत गरिएको जनाए ।

महानगरले ज्येष्ठ नागरिकका लागि दिवा सेवासमेत सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले भवनका लागि आवश्यक पर्ने काठ नेपाल सरकारको सहुलियत दरमा उपलब्ध गराइने जनाए ।

संस्थाका अध्यक्ष जीवननाथ घिमिरे र वडाध्यक्ष विनोद बस्नेतले भवन निर्माणबाट ज्येष्ठ नागरिकबीच भेटघाट र समय कटाउन सहज हुने उल्लेख गरे । उक्त भवन २ कठ्ठा ५ धुर जग्गामा निर्माण गरिने भएको छ ।