बेलबारीः बेलबारी नगरपालिकाले धिमाल जातिलाई प्रथम जाति घोषणा गरेको छ । नगरमा बसोबास गर्ने पहिलो जातिको रूपमा धिमाल जातिलाई घोषणा गरेको नगरपालिकाले जनाएको छ ।
२ सय वर्षभन्दा अगाडिदेखि नै बेलबारीमा बसोबास गरेको पृष्ठभूमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रूपमा घोषणा गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ‘वि.सं. १८६२ देखि नै तराईका जिल्लामा धिमाल जातिको बसोबास रहेको किंवदन्ती रहेको पाइन्छ’, मेयर सुवेदीले भने, ‘बेलबारीको ऐतिहासिक क्षेत्रको नामसमेत धिमाल जातिको नाम रहेको पाइन्छ ।’
वि.स. १९३६ मा बैसार धिमाल (पूर्व माननीय कर्णबहादुर धिमालका हजुरबुवा)ले बक्यौता तिरेको भूमिकरको रसिदको प्रमाण समेत भेटिएको सुवेदीले बताए । त्यसभन्दा अगाडि नै धिमाल जातिको बसोबास रहेको पाइन्छ । बेलबारीका एक दर्जन ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको नाम समेत धिमाल भाषामा राखिएको छ ।
मैषाबारी, पर्ताघारी, भिन्दहा, बर्राडागी, बेलेबारी, तीनघोरे, माईनाबारी, दोघरे, धारधारा (धररा) तेलीकुरी, कालाबञ्जार, बालाही धिमाल भाषाबाट ठाउँको नाम राखिएको सुवेदीले बताए । त्यस्तै, माटागाउँ, जुराकादेरा, धेङ्ग्राधेङ्ग्रे, काकोम नलघारी, भाउन्ने, भाङ्घारी, दोन्द्राझोरा, बेतइनी झोरा, चिसाङ झोरा धिमाल भाषाको नामबाट राखिएको पाइएको मेयर सुवेदीले बताए ।
नगरपालिकाले पहिचान गरेर धिमाल जातिलाई प्रथम जाति घोषणा गरेपछि स्थानीय सरकार छ भन्ने आदिवासीहरूलाई आभास भएको आदिवासी जानजाति महासङ्घ बेलबारीका अध्यक्ष तिलक राईले बताए ।
धिमाल जातिले विषमाला गछ, काथीमाला, हासुलीपात, हरी, कलि, कुण्डल, नादोइ, नाकमुुन्दी, कानाइला, चन्द्रहार, पाउजूजस्ता गहना लगाउने गरेका छन् ।
धिमाल जातिका खानाका परिकारहरूमा अल्गै चिचिरी, तोले, पटुवाको साग, लेउमुन्ची सिकाउती, चुदूर माखालाई, क्याहाम जस्ता रहेका छन् । मुख्य बाजाका रूपमा ढोल, उर्नीतुञ्जाई, गुमाना, ठ्यापठ्यापे, घाघुरिङ बाजा आफँैले बनाउने र बजाउने गरेको धिमाल जाति विकास केन्द्र बेलबारीका प्रमुख कविन्द्र धिमालले बताए ।
बेलबारीमा धिमाल जातिको ३ हजार १ सय ८२ जनसङ्ख्या रहेको छ । उक्त जनसङ्ख्या बेलबारीको कुल जनसङ्ख्याको ४ दशमलव ५८ प्रतिशत हो । बेलबारीको कुल जनसङ्ख्या ६९ हजार ४ सय ९८ रहेको छ ।