इटहरीः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले आह्वान गरेको बन्द प्रभावकारी देखिएन ।
प्रदेश १ का पहाडी जिल्लामा चल्ने सवारी नचले पनि तराईका जिल्लाहरूमा भने भित्री बाटोको प्रयोग गर्दै छिटपुट रूपमा सवारी चलेको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख रवि पौडेलका अनुसार लामो रुटका सवारीमा कुनै समस्या आएन । छोटो दुरीका सवारी नचलेका कारण अप्रिय घटना हुन नपाएको उनको भनाइ छ । ट्राफिक प्रहरीले सवारी दुर्घटनामा भन्दा पनि सवारी साधनमा हुने क्षतिप्रति ध्यान दिएका कारण अप्रिय घटना नभएको उनले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारीमा बम भेटिए पनि सो बम नक्कली भएको प्रहरीले जनाएको छ । बेलबारी–कानेपोखरी सडकखण्डमा भेटिएको कुकर बमभित्र साबुन भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गर्ने क्रममा साबुन रहेको पाइएको थियो ।
शङ्कास्पद व्यक्तिमाथि कडा निगरानी राखिएकाले कुनै घटना हुन नपाएको प्रदेश प्रहरी प्रमुख केदार रिजालले बताए ।
बन्दमा प्रदेश १ का मुख्य शहर विराटनगर, धरान, बिर्तामोड, दमक, इलाम र धनकुटा बजार सदाझैँ खुला नै रहे । उता इटहरीमा भने बिहीबार साप्ताहिक रूपमा बजार बन्द हुने भएकाले बन्दले कुनै असर गरेन । प्रहरी प्रमुख रिजालका अनुसार नागरिक आफैँले बन्दको बहिष्कार गरेका थिए ।