दमकः राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत दमक नगरपालिका–३ मा दृश्यावलोकन स्तम्भ निर्माणका लागि अहिले शहरी विकास मन्त्रालयले ३५ दिने टेण्डर आह्वान गरेको छ ।
स्तम्भ निर्माणका लागि स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्य पर्ने जग्गा दमक नगरपालिकालाई निःशुल्क दिएका छन् । स्थानीयवासीले विभिन्न मितिमा गरी गत असार १० गतेभित्रमा ५ बिघा जमिन नगरपालिकाको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् ।
स्थानीयवासीले १० धुरदेखि १ बिघासम्म जमिन निःशुल्क उपलब्ध गराएका छन् । यो स्तम्भ निर्माण भएपछि दमकमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने स्थानीय बताउँछन् । दृश्यावलोकन स्तम्भ अवलोकनका लागि मात्र नभएर पूर्ण रूपमा व्यावसायिक हुने भएकाले दमकको समग्र क्षेत्रको विकासमा यसले टेवा पु¥याउनेमा स्थानीय विश्वस्त रहेको बताउँछन् ।
स्तम्भ निर्माणका लागि शहरी विकास मन्त्रालयले कुल रु २ अर्ब ७२ करोड ५१ हजार ४ सय ८४ रुपैयाँको लागत अनुमान गरेको छ ।
५ बिघा क्षेत्रफलमा निर्माण हुने सो दृश्यावलोकन स्तम्भ अढाइ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाउने कार्य भइरहेको हो । १८ तले स्थायी संरचनाको सो स्तम्भ ७२ मिटर अग्लो हुने बताइएको छ । स्तम्भमा २८ मिटर स्टिलको टावर रहने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना बताउँछन् ।
अण्डरग्राउण्ड पार्किङ, व्यावसायिक पसल, सेमीनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । दृश्यावलोकन स्तम्भ निर्माण हुने दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले यसको निर्माणपछि नगरमा विकासका अन्य सम्भावना पनि खुल्ने बताए ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दृश्यावलोकन स्तम्भले पूर्वी नेपालकै रौनक बढाउने बताए । दमकलाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ नगरपालिका अघि बढेको उनको भनाइ छ । दमकमा सो स्तम्भ निर्माण भएपछि यहाँको व्यापार व्यवसायको प्रवद्र्धन हुुनुका साथै पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुने ओली बताउँछन् ।
स्तम्भ निर्माण हुने स्थान पूर्वपश्चिम राजमार्गदेखि ३ किलोमिटर तथा दमकको मुख्य चोकदेखि ६ किलोमिटर उत्तरमा पर्दछ ।