ताप्लेजुङः प्रदेश नम्बर १ का सबै जिल्लामा चल्ने सवारी साधनका चालक र परिचालकलाई बिहीबारदेखि पोशाक अनिवार्य गरिएको छ । पोशाक कार्यान्वयन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने महाअभियानको शुभारम्भसहित प्रदेश नम्बर १ मा पोशाक अनिवार्य गरिएको हो ।

सवारी चालक र परिचालकलाई आफ्नो पेशाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै सडक सुशासन कायम गर्ने उद्देश्यअनुरूप उक्त महाअभियान शुरु गरिएको बताइएको छ । उक्त अभियानको बिहीबार झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् ।

यता, ताप्लेजुङमा पनि स्थानीय यातायात व्यवसायीलाई पोशाक वितरण गर्नुका साथै अनिवार्य लागू गर्न भनिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङद्वारा एक कार्यक्रमको आयोजना गरी यहाँका यातायात व्यवसायी संस्था र चालकलाई पोशाक वितरण गरिएको छ ।

पोशाक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले यसको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन हुने समेत बताए । ‘सुरक्षित र भरपर्दो यात्राका लागि चालक मर्यादित र जवाफदेही बन्नुपर्छ । पोशाक लगाउनुका साथै ट्राफिक नियमलाई उल्लङ्घन नगर्नुहोस् । नियमित अनुगमन हुन्छ । नियम उल्लङ्घन गरेको पाइए कानुन बमोजिम कारवाही हुन्छ’, प्रजिअ भण्डारीले भने ।

ताप्लेजुङमा ७ वटा यातायात व्यवसायीले यातायात सञ्चालन गर्दै आएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले बताए । ताप्लेजुङमा विभिन्न स्रोतबाट जुटाइएका २० थान पोशाक वितरण गरिएको छ भने बाँकी यातायात व्यवसायी आफैँले व्यवस्थापन गर्नुपर्ने भनिएको छ ।