झापाः मुस्लिम समुदायको दुई दिने धार्मिक अनुष्ठान उर्स मुबारक आज सम्पन्न भएको छ ।
हरेक वर्षको फागुन २९ र ३० गते मुस्लिम समुदायले उर्स मुबारक बाबा मुन्सी अजमत हुसैन मजार शरीफ मनाउँदै आएका छन् । मजारे सरीफ दुहागढीका अध्यक्ष लाल महमद मियाँका अनुसार अनुष्ठानमा स्वदेश एवम् विदेशका मुस्लिम धर्मावलम्बीको उल्लेख्य सहभागिता थियो । मजारे सरीफ दुहागढीको आयोजनामा भएको अनुष्ठानको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् ।
मेचीनगर—१४ मा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि मेचीनगर १३ र १४ का वडाध्यक्ष कृष्णराज सिग्देल शङ्करप्रसाद पोखरेल, वासु आधारभूत विद्यालयका प्रधानाध्यापक विश्व थापालगायतले धर्मले कसैलाई पनि फुटाउने काम नगर्ने बरु एक आपसमा जोड्ने भएकाले हरेक नेपालीले एक अर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिए ।
कसैले पनि कसैलाई धर्म, जात र विचारकै कारण आत्मसम्मानमा ठेस पुर्याउने काम गर्न नहुने उनीहरूको भनाइ थियो । आयोजक संस्थाका अध्यक्ष तथा जनप्रतिनिधि लाल महमद मियाँको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सञ्जय शेखले गरेका थिए ।
मियाँले करीव ७ लाख रुपैयाँको लगानीमा दुहागढीमा मजारे सरीफ सामुदायिक भवन निर्माण भइरहेको जानकारी दिए । मेचीनगर नगरपालिकाबाट ५ र १४ नम्बर वडाबाट गरी कुल ७ लाख रुपैयाँमा निर्माण भइरहेको भवनमा सबै धर्मनुरागीका लागि पनि ढोका खुला भएको भवन निर्माण समितिका संयोजक अनिल ढुङ्गानाले जानकारी दिए ।
अनुष्ठान परिसरमा रोटेपीङ, रेलगाडीलगायत अन्य खेलौना र मनोरञ्जनका सामग्री समेत राखिएको थियो । विभिन्न व्यवसायका स्टल समेत व्यवसायीले राखेका थिए । नगर कार्यपालिका सदस्य विन्दा प्रसाई, त्रिदेव क्याम्पस चारआलीका प्रमुख माधवचन्द्र प्याकुरेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा दुहागढीका सभापति गोपीराज मैनालीलगायतको कार्यक्रममा उपस्थिति थियो ।