धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका भ्रष्टाचार र अनियमितताका समाचारहरू विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् ।
भ्रष्टाचार र अनियमितताका सामाचारहरू विभिन्न सञ्चारमाध्यममा आउन थालेपछि प्रतिष्ठानभित्रकै कर्मचारीहरूको एउटा समूह पनि भ्रष्टाचार र अनियमितताविरुद्ध लागि परेको छ । कर्मचारी स्रोतले दिएको जानकारी अनुसार प्रतिष्ठानमा सबैभन्दा बढी खर्च हुने ठाउँमा पूर्व पदाधिकारीहरूले आफ्ना मान्छे राख्ने गरेको तथ्य बाहिर आएको छ ।
कर्मचारी स्रोतका अनुसार केही कर्मचारीहरू झण्डै २० वर्षदेखि एउटै शाखामा बस्दै आएका छन् । उनीहरूले प्रतिष्ठानमा आउने जोसुकै पदाधिकारीलाई ‘कन्भिन्स’ गर्ने गरेका छन् । पूर्व पदाधिकारीहरू बहालमा नरहे पनि तिनै कर्मचारीहरूमार्फत् प्रतिष्ठानभित्र विभिन्न सेटिङहरू मिलाउँदै आएका छन् ।
यस्तो छ कर्मचारीको सेटिङ
प्रतिष्ठानको कर्मचारी स्रोतले दिएको जानकारीअनुसार प्रतिष्ठानका केही ठाउँहरूलाई पूर्व पदाधिकारीहरूले ‘मालदार’ ठाउँको रूपमा लिएर आफ्ना मान्छेहरू राखेका छन् ।
कमल रायमाझीः
कमल रायमाझीले प्रतिष्ठानमा स्थापना कालदेखि नै काम गर्न थालेका हुन् । उनी काम शुरु गरेदेखि नै प्रतिष्ठानको फाइनान्स शाखामा बसेका छन् । उनले फाइनान्स शाखामा रहँदा त्यहाँबाट विभिन्न ठेक्का तथा खरीदका चेकहरू जारी गर्न सहयोग गर्ने र कमिसनको रकम लिन सहयोग गर्ने गरेका थिए ।
कर्मचारी स्रोत भन्छ, ‘उनी पूर्व उपकुलपति बीपी दास र हालका रजिष्टार तुलबहादुर श्रेष्ठका विश्वासपात्र हुन् । उनीबाट कारोबार गर्न दास र श्रेष्ठले आफूलाई सुरक्षित महसुस गर्ने गरेका थिए ।’
उनले दास र श्रेष्ठभन्दा अगाडिका पदाधिकारीसँग पनि सेटिङमा काम गरेको स्रोत बताउँछ । उनलाई अहिलेका अस्पताल निर्देशक डा. गौरीशंकर साहले उक्त शाखाबाट हटाएर एकेडेमीमा पठाएका छन् । कर्मचारीहरूको विभिन्न शाखामा नियमित सरुवा हुनुपर्नेमा त्यसो नभएको भन्दै उनको गतिविधिमा शङ्का लागेका कर्मचारीहरूलाई सरुवा गरेका छन् ।
यस विषयमा अस्पताल निर्देशक गौरीशंकर शाहलाई बुझ्दा उनले प्रतिष्ठानको नियमित प्रक्रिया अनुसार काम भएको भन्दै बचाउ गर्ने प्रयास गरे । रायमाझीले भने आफुलाई किन सरुवा गरिएको हो भन्ने थाहा नभएको बताए । उनले आफूमाथि लागेको आरोपमा सत्यता नभएको बताए ।
रुपा सिंघाची अग्रवाल
रुपा सिंघाची अग्रवाल २०७२ साल असार ३ गते प्रतिष्ठानको चार्टर्ड एकाउण्टेट पदमा स्थायी नियुक्त भएकी हुन् । उनलाई तत्कालीन उपकुलपति बीपी दासले आर्थिक प्रशासन महाशाखाको मेनेजर पदमा राखेका थिए । त्यसपछि उनले प्रतिष्ठानको आर्थिक कारोबारमा तत्कालीन उपकुलपति दास र रजिष्टार तुलबहादुर श्रेष्ठको निर्देशनअनुसार कार्य गर्न थालेका हुन् । प्रतिष्ठानको आर्थिक प्रशासनमा उत्कृष्ट कार्य सम्पादनसमेत गरेको उनको रेकर्ड छ । तर पछिल्लो समय प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठको इशारामा ५ लाख ५० हजारको चेक बिना बिल, भौचर र टिप्पणी भुक्तानी गरेकी थिइन् । यो विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि चेक फिर्ता ल्याइएको थियो । अहिले उनलाई उपकुलपतिको सचिवालयमा सरुवा गरिएको छ ।
उनीसँग यस विषयमा जानकारी लिन बिहीबार मोबाइलमा सम्पर्क गर्दा बच्चाको उपचारका लागि डाक्टरसँग भएकाले बोल्न नभ्याउने बताइन् ।
सञ्जीवकुमार कर्ण
उनले प्रतिष्ठानमा झण्डै १५ वर्ष कम्प्युटर शाखामा काम गरे । उनलाई प्रतिष्ठानमा हुने ई टेण्डरको डाटा इन्ट्री गर्ने, टेण्डर खोल्ने व्यवस्था गर्ने अधिकार दिइएको थियो भने टेण्डरको मूल्याङ्कनमा समेत सहभागी हुने गरेका थिए । उनलाई प्रतिष्ठानमा ३ पटक स्पष्टीकरण सोधिएको कर्मचारी स्रोत बताउँछ । उनी रजिष्टार श्रेष्ठ र पूर्व उपकुलपतिका विश्वासपात्र भएको स्रोत बताउँछ ।
उनले प्रतिष्ठानबाट हुने टेण्डर प्रक्रियामा सेटिङ मिलाउन पूर्व उपकुलपति दास र रजिष्टार श्रेष्ठलाई सहयोग गर्ने गरेको स्रोतको दाबी छ । प्रतिष्ठानमा उनको गतिविधि शङ्कास्पद लागेपछि उपकुलपति राजकुमार रौनियारको निर्देशनमा अस्पताल निर्देशक गौरीशंकर शाहले कम्प्युटर शाखाका सम्पूर्ण कम्प्युटरको युजरनेम र पासवर्ड मागेका थिए ।
अहिले उनी कम्प्युटर शाखको पहिलेजस्तो पूर्ण जिम्मेवारीमा छैनन् । स्रोतका अनुसार आफ्नो कार्य सम्पादनमा मनपरी गरेको भन्दै बुधबार (२९ फागुन २०७५) मा अस्पताल निर्देशकले स्पष्टीकरण समेत सोधेका छन् । यस विषयमा अस्पताल निर्देशक गौरीशंकर शाहसँग कुरा गर्दा उनले आन्तरिक प्रशासनिक कार्यहरू भइरहने बताए ।
यसबारे उनले थप बोल्न मानेनन् । कर्णले भने अस्पताल निर्देशकले नै अभद्र व्यवहार गरेको र उल्टै आफूलाई स्पष्टीकरण सोधेर नसिहत दिएको बताए । उनले आफूले पहिले प्रतिष्ठानको टेण्डरसम्बन्धी काम गर्ने गरेको तर अहिले त्यो अधिकार खोसिएको बताए । उनले आफ्नो भारतीय सर्टिफिकेट भएको पनि बताए । ‘मेरो सर्टिफिकेट अख्तियारले छानबिन गरेर ‘क्लीन चिट’ दिएको छ’ उनले भने ।
राहुल मिश्र
राहुल मिश्र २०६० साल साउन ५ गते प्रतिष्ठानको इलेक्ट्रोनिक्स इन्जिनियर पदमा करारमा नियुक्त भएका थिए । उनले २०६५ सालमा स्थायी नियुक्ति लिएका थिए । उनलाई पूर्व उपकुलपति दासले विभागका कर्मचारीलाई पुरस्कार र कारवाही सिफारिश सम्म गर्ने अधिकार दिएर राखेका थिए ।
राहुल मिश्र तिनै व्यक्ति हुन् जसले प्रतिष्ठानको अक्सिजन प्लान्ट सञ्चालन गर्न सक्ने अवस्था हँुदाहुँदै बाहिरबाट अक्सिजन ल्याउन पूर्व पदाधिकारीलाई सघाएका थिए । प्रतिष्ठानका हालका निर्देशक गौरीशंकर साहले मिश्रलाई पनि अन्यत्र सरुवा गरेका छन् ।
यस विषयमा जानकारी लिन मिश्रलाई बिहीबार दिउँसो मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ गरिएको थियो ।
राकेशकुमार दास
राकेशकुमार दास पूर्व उपकुलपति बीपी दासका भतिजा हुन् । प्रतिष्ठानको कम्प्युटर शाखामा २०६९ साल असार ११ गते करारमा नियुक्त भएका उनलाई कम्प्युटर चलाउन नआएपछि उनको विरोध भएको थियो । तर आफ्नै काका उपकुलपति भएका र उनकै निर्देशनमा जागिर खाएकाले उनको विरुद्धमा पछि कसैले आवाज उठाएनन् ।
उनले प्रतिष्ठानका लागि आवश्यक पर्ने कम्प्युटर र पार्टस खरीदमा झण्डै ३ करोड रुपैयाँ खर्च गराएका छन् । उनले आवश्यक नभएको ठाउँमा पनि कम्प्युटर खरीद गरेका छन् । उनले आफ्ना काका दास र रजिष्टार श्रेष्ठलाई कम्प्युटरमा ‘लेनदेन’को व्यवस्था मिलाउने गरेका थिए’, स्रोत भन्छ । यस विषयमा जानकारी लिन उनलाई मोबाइलमा सम्पर्क गर्दा उनले फोन रिसिभ रिसिभ गरेनन् ।