धरान: निर्माण कार्य शुरु भएको झण्डै ४ वर्षपछि धरान उपमहानगरपालिकामा जनसहभागिताको अर्को नमूना कार्य सम्पन्न भएको छ ।
१ नम्बर प्रदेशमा रहेका लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार गर्ने र समाजमा पुनस्र्थापित गराउने उद्देश्यले २०७१ साल माघ ११ गते शिलान्यास भएको पूर्वाञ्चल आसरा सुधार केन्द्रको आज नेपाल प्रहरीका प्रमुख आइजीपी सर्वेन्द्र खनालले उद्घाटन गर्दैछन् ।
धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा निर्माण भएको आसरा सुधार केन्द्र जनसहभागितामा निर्माण भएको देशकै नमूना योजना हो । वार्षिक २ सय जना लागूऔषध प्रयोगकर्तालाई सुधार गरी समाजमा पुनस्र्थापित गर्ने योजनासहित नेपाल प्रहरी र नागरिकको साझेदारीमा योजना शुरु भएको थियो । २ करोड ३७ लाख रुपैयाँको जनसहभागितामा निर्माण भएको आसरा सुधार केन्द्र गत वर्ष नै निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बनाइएको थियो ।
तर २०७२ सालमा गएको भूकम्प र भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण निर्माण र सञ्चालनको कार्य १ वर्ष पछि सरेर निर्माण कार्य शुरु भएको ४ वर्षपछि अर्थात् आज उद्घाटन हुँदैछ ।