इटहरी / अरुबेला विभिन्न हटियामा लत्ताकपडा बेच्ने इटहरीका सुरेशकुमार रौनियार आजकाल हरेक बिहीबार इटहरी चोकमा सामान बेच्छन ।
शनिबार खनारको हटिया, आइतबार इहरीको हटिया र सोमबार बेलबारी गएर सामान बेच्ने रौनियार इटहरी चोकमा बिहीबार हटिया लाग्ने भएर सामान बेच्न आएका होइनन् । उनी यहाँको खाली फुटपाथमा आफ्ना सामान बेच्न आएका हुन् । ‘यो हटिया त होइन तर हटिया जत्तिकै मान्छेहरू हुन्छन्’, इटहरी–८ गैसार जाने बाटोमा घर भएका रौनियार भन्छन्, ‘बिहीबार फुटपाथको व्यापार राम्रै छ ।’
हटिया धाउँदै लत्ताकपडा बेच्ने रौनियार मात्रै होइन इटहरीको फुटपाथ बजारमा हरेक बिहीबार सामान बेच्न आउँछिन्, विराटचोककी कमला खड्का । इटहरीको हटिया लाइनमा सटरमै पसल भएकी खड्का फुटपाथमा आउनुको अर्थ पार्टटाइम व्यापार भएको बताउँछिन् । उनी भन्छिन्, ‘खास व्यापार त सटरमा हो । यो चाहिँ ओटी (ओभर टाइम) हो । दुवैमा राम्रो छ ।’
इटहरीका रौनियार र विराटचोककी खड्काजस्तै अन्य इटहरी र आसपासका व्यापारीहरूको लागि इटहरीको फुटपाथ व्यापार साप्ताहिक गन्तव्य बनेको छ । केही महिना अघि २÷४ पसल मात्रै देखिने इटहरीका फुटपाथ व्यापारमा आजकाल दर्जन बढी व्यापारीहरू हुने व्यापारी रौनियार बताउँछन् । भन्छन्, ‘पहिले व्यापारी कम हुँदा ठाउँ ठूलो लाग्थ्यो । अहिले व्यापारी धेरै भएपछि ठाउँ सानो हुन थाल्यो ।’
संघीय राजधानी काठमाडौको रत्नपार्क र आकाशे पुलमा देखिने किनमेलका दृश्य इटहरीमा पनि देखिन थालेका छन् । सस्तो सामान सडक किनारमा व्यापारीहरूले कराउँदै बेच्ने दृश्य इटहरीमा पुरानो थियो । तर, अहिले यो साप्ताहिक दृश्य बढी देखिन थालेको छ । हरेक बिहीबार इटहरीको धरान लाइनको पूर्वतर्फको खाली क्षेत्रमा इटहरी र आसपासका व्यापारीहरू आएर लत्ताकपडा र जुत्ताचप्पल जस्ता सामानहरू बेच्न थालेका छन् ।
बिहीबारको बजार बन्दले फस्टायो फुटपाथ व्यापार
अरुबेला दैनिक भीडभाड हुने शहर इटहरीमा बिहीबार पसल बन्द हुन्छन् । व्यापारिक क्षेत्रमा काम गर्ने मजदुरलाई हप्तामा एक दिन बजार बन्द गरेर बिदा दिने अन्य शहरहरूको प्रचलन जस्तै इटहरीको बजार पनि बिहीबार बन्द गरिन्छ ।
सटरका पसलहरूमा काम गर्ने मजदुरलाई बजार बन्दले सहज गरे पनि हप्ताको एक दिने बन्दले उपभोक्तालाई भने असहज भएको छ । अझ, इटहरी त पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गले काटेर बनाएको चोक हो । त्यही भएर इटहरीमा प्रदेश १ का धेरै आगन्तुकहरूको बाक्लो भीड दैनिक हुन्छ । भीड हरेक दिन भए पनि बिहीबारे किनमेललाई भने इटहरीमा असहज भएको थियो । केही महिना यता भने इटहरीमा बजार बन्द भएकै समयमा चोक क्षेत्रको खुला ठाउँमा व्यापारीहरूले पसल थाप्न थाले । भुइँमा फिँजाएर ग्राहकलाई सामान बेच्नेहरूमा लत्ताकपडादेखि जुत्ताचप्पलसम्म रहेका छन् ।
नेतादेखि सरकारी कर्मचारीसम्म ग्राहक
अरु बजार बन्द हुँदा खुल्ने र धरान लाइनको खुला स्थानमा सडकमै सामान राखेर बिक्री गरिनाले अहिले धेरैलाई किनमेल गर्न सजिलो छ । सटरमा राखिने महङ्गो फेन्सी आइटम भन्दा सस्तो हुनाले किनमेल गर्न सर्वसाधारणहरूको भीडभाड हुन थालेको छ । सर्वसाधारणहरूसँगै नेता र कर्मचारीहरू पनि किनमेल गर्न आउन थालेका छन् ।
बिहीबार यो बजारमा किनमेल गर्न आएकी थिइन् राप्रपा इटहरीकी नेतृ तथा गतवर्षको स्थानीय चुनावकी उपमेयर उमेद्वार माया रायमाझी । आफ्ना लागि नभई आफन्तको किनमेलमा सहयोग गर्न आएको रायमाझीले बताइन् । उनले भनिन्, ‘दिदीले बजार बन्द छ किनमेल गर्न जाऔं भन्नुभएर यहाँ आएको हो । अन्त बजार बन्द हुँदा यता खुलेर सजिलो भएछ ।’
रायमाझी मात्रै होइन इटहरी उपमहानरका कर्मचारी अनिल पोखरेल पनि इटहरीमा फुटपाथे पसलमा सामान किन्छन् । सस्तो दर र सहज रुपमा किनमेल हुने हुनाले आफू किनमेलमा आउने पोखरेलले बताए । उनले भने, ‘राजधानी बस्दा रत्नपार्कमा चाहिने चिजहरू सहजै पाइन्थ्यो र यहाँ पनि अब पाइन थाल्यो । त्यो पनि बजार बन्द भएको समयमा ।’
रत्नपार्कको झल्को दिने किनमेलले धेरैलाई सहज बनाएको पोखरेलले बताए । दैनिक जरुरी सामान किन्न बजार बन्द भएको बेला फुटपाथ पसलले सहज गराएको उनको तर्क छ । उनी भन्छन्, ‘हप्तामा ६ दिन सटरमा बेच्नेलाई फाइदा र हप्ताको एक दिन सडकमा बेच्नेलाई । यसले किन्ने र बेच्ने दुवैलाई फाइदा गरेको छ ।’