झापाः सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम १ नं प्रदेशभरि शुरु भएको छ ।
कार्यक्रमको शुभारम्भ झापाको बिर्तामोडमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान शुभारम्भ गरिएको छ । १५ दिने अभियान १ नं प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
उनका अनुसार अभियानका क्रममा सचेतनामूलक पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालकको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, घुम्ती प्रशिक्षणलगायतका कार्यक्रम गरिनेछ ।
उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७ सय जना चालक तथा सहचालकलाई पोशाक प्रदान गरिएको महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।
गत मङ्सिर ४ गते बिर्तामोडको डोमालाल राजवंशी रङगशालामा नेपथ्य समूहबाट भव्य साङ्गीतिक कार्यक्रम गराएर दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो । महाअभियान शुभारम्भ कार्यक्रमबाटै रु २० लाख २८ हजार १ सय ५७ बचत भएको संयोजक गिरीले बताए ।
७७ लाख रुपैयाँ सङ्कलन भएको कार्यक्रममा ५७ लाख रुपैयाँ खर्च भएको थियो । अभियानलाई सार्थकता प्रदान गर्न ४ चरणमा काम गर्ने आयोजक समितिको तयारी छ । चौथो चरणमा ट्राफिक लाइट जडान गरिने समितिले जनाएको छ ।
महाअभियान समिति र ट्राफिक प्रहरीको अगुवाइमा हरेक वर्षको २ असोजलाई ‘दुर्घटना न्यूनीकरण महाअभियान दिवस’का रूपमा मनाउँदै आएको संयोजक गिरीले बताए । महाअभियान शुरु भएयता चालकलाई अनिवार्य जुत्ता, टिपर सञ्चालनमा समय निर्धारण, टिपरलाई टाइम कार्ड, सडक प्रशिक्षण कार्यक्रमलगायतका काम भएका छन् ।