इटहरी/ गुुण्डागर्दीको आरोपमा पक्राउ परेका तरहराका सिजन गुरुङको समाचार लेखेको विषयमा अपमानजनक शब्दसहित विज्ञप्ति आएकोप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले भत्र्सना गरेको छ ।
गुरुङपत्नी अञ्जु लिम्बूले बुुधबार विज्ञप्ति निकाल्दै पक्राउ परेका आफ्ना श्रीमान्विरुद्ध समाचार लेख्न पैसा लिएको भन्दै पूर्वी बजार दैनिकका प्रमुुख संवादाता विराट अनुुपम र नागरिक दैनिकका धरान संवादाता रोहित राईलाई अपमानजनक शब्द प्रयोग गरेकी थिइन् । गुरुङ कांग्रेसको जिल्ला तहका नेतासमेत हुन् ।
महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले बुुधबार साँझ निकालेको विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएर लिम्बूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुुनै पनि पत्रकारले लेखेको समाचारप्रति चित्त नबुुझेमा त्यसको निरुपण गर्ने उपाय हुुँदाहुुँदै सिजनकी पत्नी अञ्जुले पत्रकार विराट अनुपम र रोहित राईलाई नामै किटान गरेर अपमानजनक शब्द प्रयोग गरेर लगाइएको लाञ्छनाप्रति पत्रकार महासंघ खेद व्यक्त गर्दछ ।’
समाचार लेखेको विषयमा दोषी या निर्दोषी ठहर गर्ने काम महासंघको नभएको भन्दै समाचारमा चित्त नबुुझे कानुनी उपचार खोज्न प्रेस काउन्सिल वा अदालत जान भनिएको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यवहारिक रूपमा प्रतिबद्ध बन्न र नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न सम्बन्धित सबैमा महासंघ अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।