धरानः धरान उपमहानगरपालिका र सर्दू खोला सङ्घर्ष समितिबीच ४ बुँदे सहमति भएपछि सो समितिको आन्दोलन रोकिएको छ ।

शुक्रबार खोलाजन्य वस्तुको ठेक्का लगाउन नहुने भन्दै आन्दोलन गरेको समितिले प्रक्रिया पु¥याएर ठेक्का लगाउने सहमति गरेको थियो ।

कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेल, वडाध्यक्ष सूर्यबहादुर भट्टराई, संरक्षण समितिका पदाधिकारीलगायतको उपस्थितिमा भएको छलफलले ४ बुँदे सहमति गरेको थियो ।

सङ्घर्ष समितिका संयोजक सुदर्शन श्रेष्ठले बस्तीलाई असर नपर्ने गरी उपमहानगरपालिकाले ठेक्का लगाउने सहमति बनेको बताए । सहमतिमा सर्दू खोलाको नदीजन्य पदार्थ उत्खनन् गर्न आईई प्रतिवेदनले तोकेबमोजिमका नाकाहरूको रेखाङ्कन गर्ने कार्यमा सरोकारवालाहरूलाई सहभागी गराउने सहमति भएको छ ।

त्यस्तै, प्रभाव क्षेत्रको माग र सम्बन्धित वडा कार्यालयको सिफारिशमा उत्खनन भएको क्षेत्रमा तारजाली र वालका लागि निश्चित प्रतिशत रकम विनियोजन गर्न पहल तथा सिफारिश गर्ने, कुनै स्थायी संरचनाले जनधन तथा वन जङ्गलको क्षति हुने भएमा वा हुन गएमा उपमहानगरपालिकाले तुरुन्त राहत तथा उद्दार गर्ने सहमति भएको छ ।

विशेषगरी सर्दू खोलामा आईई प्रतिवेदनबमोजिमको उत्खनन कार्य हाल निर्माणाधीन विष्णुपादुका जाने पुलबाट दक्षिण र धरान–चतरा पुल माथिको क्षेत्र तथा धरान चतरा पुलबाट दक्षिण हुनेछ भनिएको छ । आईई प्रतिवेदनमै सहमति भएका बँुदाहरू उल्लेख छन् ।

केही हप्ता अघि सर्दू खोलाका बासिन्दाले पनि धरान उपमहानगरपालिकाले स्काभेटर र जेसीबी प्रयोग गरी उत्खनन् गर्ने निर्णय फिर्ता लिन माग गर्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) लाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

धरान ११, १३, १६, १७ र २० भएर बग्ने सर्दू खोलाले आसपासका बस्तीमा क्षति, तारजालीमा क्षति पु¥याउने साथै चुरे वन क्षेत्रमा समेत गम्भीर क्षति पुग्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । उपमहानगरपालिकाले २०७५ फागुन १ गते बोलपत्र आह्वान गर्दै ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने निर्णयका साथ अघि बढेको थियो ।

सुदर्शन श्रेष्ठको संयोजकत्वमा २६ सदस्यीय सङ्घर्ष समिति गठन समेत भएको थियो । संयोजक श्रेष्ठले सर्दू खोलामा बीच भागबाट २० देखि ३० मिटर चौडाइ र १ देखि १ दशमलव ५ मिटर गहिरो गरी ढुङ्गा, गिटी, बालुवा निकाल्दा खोला गहिरो भई बस्तीमा नै क्षति पुग्ने हुनाले विरोध जनाएको बताए ।

सेउती खोला छेउका बासिन्दा सङ्घर्षमा
उता, धरान–१५ र ५ स्थित सेउती खोला किनारका बस्तीका बासिन्दा पनि सङ्घर्षमा उत्रिएका छन् । उनीहरू २९ सदस्यीय सेउती खोला सङ्घर्ष समिति बनाएर आन्दोलित बनेका हुन् । १५ र ५ का वारिपारीका बासिन्दाको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । नेकपाका नेता अइद्रविक्रम बेघाको संयोजकत्वमा २९ सदस्यीय सङ्घर्ष समिति बनेको हो ।