इटहरीः प्रदेश राजधानी कहाँ उपयुक्त हुन्छ भनी इटहरीमा नमुना मतदान सम्पन्न भएको छ । राजधानी सरोकार समाज इटहरीले नमुना मतदानको आयोजना गरेको थियो ।
आज बिहान साढे ६ बजेदेखि ८ बजेसम्म भएको मतदानमा ८ सय जनाले आफ्नो मत जाहेर गरेका थिए । आयोजकका अनुसार मतगणना पनि सम्पन्न भइसकेको छ । जसअनुसार राजधानी इटहरी हुनुपर्छ भनेर ७ सय ४९ जनाले आफ्नो मत जाहेर गरेका थिए ।
मोरङको गोठगाउँमा राजधानी हुनुपर्छ भनेर २० जनाले र धनकुटामा राजधानी हुनुपर्छ भनेर ३१ जनाले मतदान गरेको बताइएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नजिक राजधानी उपयुक्त हुन्छ कि हुँदैन भनी गरिएको सर्वेक्षणमा ७ सय ९५ जनाले उपयुक्त हुँदैन भन्ने पक्षमा मत दिएको र ५ मत बदर भएको बताइएको छ ।