धरानः यहाँ आज आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले पर्यटनको विकासका लागि संयुक्त प्रयास आवश्यक हुने बताएकी छिन् ।
सुब्बा नमस्ते धरानले आयोजना गरेको ‘पर्यटनका लागि प्रेरणादायी तथा मनोवैज्ञानिक शिविर’ मा वक्ताका रूपमा उपस्थित थिइन् । उनले त्यस क्रममा धरानमा पर्यटनको सम्भावना प्रशस्त भए पनि सबैको सहकार्यबिना प्रतिफल प्राप्त नहुने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा वक्ताकै रूपमा प्रशिद्ध मनोचिकित्सक डा. वासु आचार्य पनि उपस्थित थिए । उनले जीवनमा आनन्द प्राप्त गर्न ध्यान दिनुपर्ने विषयमा प्रष्ट पारेका थिए । उनले पनि सबैको प्रयासबाट मात्र पर्यटनको विकास हुनेमा जोड दिए ।
धरानमा शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले केही सक्रिय युवाले नमस्ते धरान नामक संस्था स्थापना गरेको संस्थाका सल्लाहकार राजन बास्तोलाले बताए । संस्थाका अर्का सल्लाहकार डा. अशोक अयरले पर्यटनको विकासका लागि हाम्रो देशमा धेरै काम गर्न बाँकी रहेको धारणा राखे ।
संस्थाका अध्यक्ष दीपेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, व्यवसायी, जनप्रतिनिधिको बाक्लो उपस्थिति थियो । कार्यक्रम दीपेन्द्र निरौलाले सञ्चालन गरेका थिए ।
विशेष वक्ताका रूपमा महावीर पुन आउने कार्यक्रम भए पनि कारणवश उनी आउन नसकेको आयोजकले जनायो । पदयात्रा गर्दै स्थानीयसँग अन्तक्र्रिया गर्ने गरी पुन एक महिनापछि उनी आउने कार्यक्रम तय भएको आयोजकले बताएको छ ।