धरान/ धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि लागु हुने गरी चर्को कर बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको तयारी थालेको छ ।
धरान सरकारकोसमेत प्रतिपक्षी रहेको कांग्रेस जनभावना अनुसार जनप्रतिनिधिले कर निर्धारण गर्न नसकेको भन्दै आन्दोलनको विकल्प नभएको निचोडमा पुुगेको नगर सचिव श्याम पोख्रेलले बताए ।
उनका अनुसार यहाँका जनप्रतिनिधिले बिनासुुझबुुझ एकलौटी ढङ्गले कर बढाएका हुन् । सरोकारवालासँग छलफल नगरी बढाइएको करले जनताको ढाड सेक्ने पोख्रेलले आरोप लगाएका छन् । पार्टीले शनिबार दिउँसो ३ बजे धरानको मुुख्य चोक भानुु चोकबाट आन्दोलनको शुरु गर्ने तयारी गरेको छ । धरानका विभिन्न संघसंस्था तथा साना राजनीतिक दलका नेतासँग छलफलसमेत चलाइ सकेको पार्टीले जनाएको छ ।
कांग्रेसले शुक्रबार बिहान उद्योग वाणिज्य संघका प्रतिनिधिसँग कर वृद्धिबारे छलफलसमेत चलाइसकेको छ । नेपाली कांग्रेस धरान नगरसमितिले उठाएका विषयमा व्यवसायीसमेत सहमत रहेको हुँदा धरानमा बढेको अधिक करको विरुद्धमा शनिबारदेखि आन्दोलन थाल्ने तयारी भएको पोख्रेलको भनाइ छ ।

व्यवसायी आक्रोशित
धरानका व्यवसायी पनि स्थानीय सरकारले वृद्धि गरेको करप्रति असन्तुुष्ट बनेका छन् । सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठले स्थानीय सरकारले राय लिए पनि कार्यान्वयन नगरेको दुखेसो पोखे । उनले संघले दिएको सुुझावभन्दा १ सय प्रतिशतसम्म बढी कर स्थानीय सरकारले वृद्धि गरेको गुनासो गरे ।
आज बिहान करको विरोध गरिरहेका दलका नेतासँग पनि छलफल भएको भन्दै नगरलाई यस बारेमा सोच्न आग्रह गरिने बताए । ‘हामी आफैँले साना, मझौला तथा ठूला व्यवसायीलाई कारोबारअनुसारको कर लिने गरी सुुझाव दिएका थियौं’, उनले भने, ‘यसरी कसैलाई मार नपर्ने गरी करको दर निर्धारण गर्न सुुझाव त दियौँ, तर कार्यान्वयन भएन ।’
उनले कुनैकुनै शीर्षकमा ४ सय प्रतिशतसम्म कर बढाइएको भन्दै यसले करदाताको ढाड सेक्ने काम भएको र यस बारेमा आवाज उठाउनुपर्ने बताए ।