विराटनगरः प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाइ उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन् ।

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने उनको भनाइ थियो ।

उनले पर्यटकको बसाइ ६ दिनदेखि ७ दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बर्जुताल–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको बताए ।

मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले पर्यटन क्षेत्र संवेदनशील व्यवसाय भएकाले तेस्रो मुलुक मात्र नभई छिमेकी देशका नागरिकलाई अतिथिका रूपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिए । पर्यटकीय क्षेत्रको स्तरोन्नति पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले रु १५ करोड बजेट निकासा गरेको उनको भनाइ थियो ।

नाटाका प्रदेश अध्यक्ष भुपालराज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा विराटनगर, धरान, काँकडभिट्टाबाट पोखरासम्म पर्यटकीय बस सञ्चालन तथा पूर्वकोे पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने काम गरिने बताइएको थियो ।