धनकुटाः जङ्गलमा लागेको आगो बस्तीमा पसेपछि धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नम्वर ४ मा ५ घर जलेका छन् ।
आज अपराह्न्न तेलियास्थित भन्ज्याङडाँडा सामुदायिक बनबाट फैलिएको आगोले कर्कलेगाउँका ज्ञानबहादुर अधिकारी, भरत गिरी, तिलबहादुर भुजेल, इच्छामाया तामाङ र सामटारे तामाङको घर जलेर नष्ट भएको स्थानीय प्रदीप ओझाले जानकारी दिए ।
नियन्त्रणबाहिर रहेको आगो मार्सेगाउँतिर फैलँदै गएको आगलागी स्थलबाट ओझाले टेलिफोन मार्फत् बताए । आगोले कर्कलेटोलमा वितरित खानेपानीको २ किलोमिटर क्षेत्रको पाइप जलेको छ भने विद्युत् सेवा अवरुद्ध भएको छ । आगोका कारण मार्से गाउँ र स्थानीय फुर्केसल्ला प्राथमिक विद्यालय जोखिममा छ । पानी र पर्याप्त जनशक्ति नहुँदा हावाहुरीका कारण फैलँदै गएको आगो नियन्त्रण बाहिर रहेको ओझाले जनाए ।