विराटनगरः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना र सोच नरहेको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने उनले बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको उल्लेख गरे ।

तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रूपमा लिएको उनले प्रष्ट्याए ।

उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु सरकारको कर्तव्य भएको बताए । जुनसुकै सरकारले पनि त्यस्तै गर्ने भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने उनले उल्लेख गरे ।

उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको बताए । सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल भएको उनको भनाइ थियो ।

प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार नखोसिएको पनि उनले बताए । स्वास्थ्यमन्त्री समेत रहेका यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमितताका सम्बन्धमा विगतको सरकारले छानबिन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जनाए ।