विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विप्लव नेतृत्वको दललाई प्रतिबन्ध लगाउँदा बुद्धिजीवीहरूले गलत व्याख्या गरेको बताएका छन् । विराटगनर महानगरपालिकासँग जोडिएको मोरङको कटारी गाउँपालिका रहेको कृषि बजार उद्घाटन गर्न आइपुगेका ओलीले जनताको नाममा धम्क्याउने, धम्की दिने समूहलाई चन्दा उठाउने हक रहेको भन्दै गलत व्याख्या गर्ने बुद्धिजीवीप्रति दया लागेको टिप्पणी गरेका हुन् ।

जनताको नाममा डकैत र लुटपाट भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै लोकतन्त्रका नाममा तमासा मच्चाउनेलाई सरकारले तह लगाउन सक्षम रहेको बताए । यदि कुनै दल या झुण्डको नाममा चन्दा माग्छ, धम्की दिन्छ भने नडराउन समेत आग्रह गरे ।

प्रदेश १ कै नमुनाको रूपमा लिइएको यो तरकारी बजारको स्टक क्षमता देशभरमै ठुलो रहेको छ । उक्त कृषि बजारको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । गत असारमै निर्माण सम्पन्न गरी हस्तान्तरण हुने बताइएको उक्त कृषि बजार विराटनगर महानगरपालिका र कटहरिको सिमानामा पर्छ ।

७ दशकअघि स्थापना भएको विराटनगरको गुद्री बजार साँघुरो भएपछि नेपाल सरकार र विश्वबैंकको संयुक्त १५ करोड ४८ लाख ४९ हजारको लगानीमा बजार सेड निर्माण भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव यज्ञधोज जिसीले जानकारी दिएका छन् ।