झापाः नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ ।
सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी गरेका थिए । प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो ।
आज बिर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी खुलेको पत्रकार महासङ्घ झापा शाखा अध्यक्ष तारामणि सापकोटाले बताए ।
विसं २०७५ को सदस्य नवीकरण पूर्ववत्रुपमा हुने र वि.सं २०७६ देखि केन्द्र तथा प्रदेश समितिको नीति निर्देशनबमोजिम नवीकरण गर्ने सहमति भएको छ । तालाबन्दीका कारण फागुन ४ मा हुने भनिएको महासङ्घ झापा शाखाको साधारणसभा चैत मसान्तभित्र गरिने भएको छ ।
पत्रकार शुद्धीकरण अभियानअन्तर्गत महासङ्घ झापा शाखाको कार्यसमितिले क्रियाशीलताको प्रमाणपत्रबिना सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।