भोजपुरः भोजपुरको पौवादुङ्मा गाउँपालिकाले अग्निपीडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाले गत फागुन २८ गते आगलागीमा परी पूर्ण रूपमा घर जलेर नष्ट भएका वडा नं –५ सानोदुङ्माको चौकीबारीका पीडित चितमान राई, मनकुमार राई र बद्रसिंह राईलाई राहत वितरण गरेको हो ।

गाउँपालिकाले अन्नपात र भाँडाकुँडासंँगै क्रमशः रु ९ हजार, १० हजार र ८ हजार सहयोग गरेको गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले बताइन् ।

गाउँपालिकाको विपद् व्यवस्थापन कार्यविधिअनुसार सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । आगलागीमा परी ३ घर जल्दा रु १५ लाख बढीको क्षति भएको थियो ।