इनरुवा/ सुनसरीको धरान–१८ का एक व्यक्तिले नयाँ कानुनअनुसार पत्नीविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा शुक्रबार सुनसरी जिल्ला अदालतमा दर्ता गरेका छन् ।
पुरानो मुलुकी ऐन खारेज भई नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ शुक्रबारदेखि लागु भएको छ । सो ऐनमा भएको व्यवस्थाअनुसार धरान–१८ का राजेश राईले पत्नी सन्तकला राईसँग सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
मुद्दा दर्ता भएपछि सुनसरी जिल्ला अदालतले पहिलोपल्ट नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ को अभ्यास गरेको बताइएको छ । सो ऐनको परिच्छेद ३ मा रहेको सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्थाको दफा ९४ (क), (ख), (ग) र (घ) अनुसार अधिवक्ता पदम लिम्बूले मुद्दा दर्ता गरेपछि नयाँ मुलुकी ऐनको शुभारम्भ गरिएको अदालतले जनाएको छ ।
यसअघि पुरुषले अदालतमा सोझै मुद्दा दर्ता गराउने प्रावधान थिएन । महिलाले मात्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने प्रावधान रहेको थियो । सो नयाँ मुलुकी ऐनको दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरिएको छ ।
पतिले देहायका अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने भनी संहितामा उल्लेख छ ।
(क) कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र (घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।