झापाः मेचीनगर नगरपालिकाले नक्सापास गराएर मात्रै घर निर्माण गर्न नगरवासीलाई आग्रह गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा २७ मा कसैले पनि नगरपालिकाबाट नक्सापास नगराई घर निर्माण गर्न हुँदैन भन्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै कतिपय संस्था र व्यक्तिले नक्सा नै पास नगराई घर निर्माण गरिरहेको बुभिन आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

उनले सर्वसाधारणका लागि नक्सापास गराएर मात्र भवन निर्माण गर्ने गराउने सम्बन्धी सूचना जारी गर्दै यस्तो कार्यमा व्यापक प्रचारप्रसार गर्ने बताएका छन् । सम्बन्धित वडा कार्यालयलगायतबाट अनुगमन गरी नियमन गर्ने तथा नक्सापास नगरी निर्माण भएका संरचनाको हकमा तुरुन्तै वडा कार्यालयमा सम्पर्क राख्न उनले अनुरोध गरेका छन् ।

सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष तथा सदस्य, कर्मचारी र विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीले समेत उक्त कार्यमा प्रचार गरी सघाउन उनले आग्रह गरेका छन् ।