बेलबारीः शिक्षक सेवा आयोगले लिएको परीक्षामा बेलबारीको एक सामुदायिक विद्यालयका ६ जना शिक्षक फेल भएका छन् । अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रयोजनका लागि लिएको परीक्षामा फेल भएपछि उनीहरूले एकसाथ सेवाबाट अवकाश पाएका छन् ।
श्री धीरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालय बेलबारी–१० का ६ जना अस्थायी शिक्षक आयोगका परीक्षामा फेल भएका हुन् । यस्तै, सो विद्यालयका अर्का शिक्षक भीमबहादुर बिष्टले राजीनामा दिएपछि एकैसाथ ७ जना शिक्षकले विद्यालयबाट अवकाश लिएका हुन् । जसका कारण विद्यालयको पठनपाठनमा थप समस्या भएको विद्यालयले जनाएको छ ।
कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा निम्न माध्यमिक तहका ३ जना र प्राथमिक तहका ३ जना शिक्षक आयोगको परीक्षामा अनुत्तीर्ण भएका हुन् । निम्न माध्यमिक तहका केशवप्रसाद आचार्य, भोलानाथ खतिवडा, प्रदीप राजवंशी परीक्षामा अनुत्तीर्ण भएका थिए । त्यस्तै, प्राथमिक तहका हेमलक्ष्मी श्रेष्ठ, सुशीलकुमारी राजवंशी र तीर्थलाल राजवंशी परीक्षामा अनुत्तीर्ण भएपछि विद्यालयमा पठन पाठन गर्न समस्या भएको प्रधानाध्यापक पूर्ण कोइरालाले बताए ।
वार्षिक परीक्षाको मुखमा एकसाथ ७ जना शिक्षकको अभाव हुँदा समस्या भएको कोइरालाले बताए । वार्षिक परीक्षा सञ्चालन गर्न र उत्तरपुस्तिका परीक्षणलगायतका अन्य काममा समेत समस्या पर्ने देखिएको उनले बताए ।
शिक्षकको पदपूर्ति गर्न नगरपालिकासँग माग गरिएको उनले बताए । हाल ४ जना निम्न माध्यमिक, ५ जना प्राथमिक, ५ जना माध्यमिक र २ जना उच्च शिक्षामा अध्यापन गर्ने शिक्षक रहेको उनले बताए । यसअघि आधारभूत तहमा १६ जना शिक्षक रहेकोमा अब ७ जना मात्र रहेकाले समस्या परेको उनले बताए ।
बेलबारी नगरपालिकाको शिक्षा शाखाका प्रमुख जीवन गड्तौलाले सो विद्यालयमा शिक्षक अभाव भएको विषयमा आयोगमा जानकारी गरिसकिएको बताए ।