भोजपुरः भोजपुरमा नेपाल कम्युनिष्ट पार्टीको एकताको नेतृत्वको प्रक्रिया टुङ्गो लागेको छ । जिल्ला कार्यदलको बैठकमा भोजपुरका ९ वटा स्थानीय तहमध्ये ५ वटामा पूर्व एमाले र ४ वटामा पूर्व माओवादीले नेतृत्व लिने निर्णय गरिएको छ । वडाको हकमा भने नेतृत्वको नामावली मात्र टुङ्ग्याउन बाँकी छ ।
साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा पूर्व एमालेले नेतृत्व लिएको छ । कार्यदलका सदस्य राजेश खतिवडाका अनुसार पूर्व माओवादीले आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, पौवादुङ्मा गाउँपालिका र अरुण गाउँपालिकामा नेतृत्व लिएको छ ।
ती स्थानीय तहका कुल ८१ वटा वडामध्ये ५२ वडामा पूर्व एमालेले अध्यक्षसहित ५३ प्रतिशत र २९ वडामा पूर्व माओवादीले अध्यक्षसहित ४७ प्रतिशत नेतृत्व लिएका छन् । स्थानीय तहको चुनावमा ३७ वडामा पूर्व एमाले, २५ वडामा नेपाली काङ्ग्रेस, १८ वडामा पूर्व माओवादी र १ वडामा सङ्घीय समाजवादी फोरमले नेतृत्व हात पारेको थियो ।
स्थानीय तहका कमिटीको नेतृत्वको हकमा प्राय सबैको नाम तय भइसकेको छ । वडाको नेतृत्व तथा अन्य तहमा अब बैठक बसेर २÷३ दिनभित्रै नामवली टुङ्ग्याइने पूर्व एमाले सचिव शरणकुमार राईले बताए । एकता प्रक्रिया पछिल्लो समयमा निकै गतिले अघि बढेसँगै लामो समयदेखि भूमिकाविहीन कार्यकर्तामा जाँगर र उत्साह पैदा भएको भन्दै अब पार्टीले गति लिने राईको भनाई छ ।
कार्यदलले यसअघि नै जिल्लाको नेतृत्वका लागि नाम सिफारिश गर्नुका साथै नामावली टुङ्ग्याइसकेको छ । जिल्ला नेतृत्वमा पूर्व एमालेबाट अध्यक्षमा देवीराम चौलागाई र शरणकुमार राईको नाम सिफारिश भएको छ । त्यस्तै पूर्व माओवादी तर्फबाट सचिवमा थामप्रसाद राई र नगेन्द्र भुजेलको नाम सिफारिश गरिएको छ । पूर्व एमालेको ५३ प्रतिशत र पूर्व माओवादीको ४७ प्रतिशत रहने गरी बनाइने जिल्ला कमिटीमा कुल १ सय ३५ सदस्य रहने बताइएको छ ।
जिल्लाको पार्टी एकतालाई सम्पन्न गर्न बनाइएको जिल्लास्तरीय कार्यदलमा नेकपाका केन्द्रीय सदस्यहरू जयन्ती राई, सुदन किराती, हरिबहादुर राई, प्रेमकुमार राई, देवीराम चौलागाई, दिलकुमार राई, राजेश खतिवडा र विमल खड्का रहेका छन् ।