इनरुवा/ मुलुकी ऐन २०२० लाई विस्थापन गर्दै शुक्रबारदेखि नयाँ मुलुकी देवानी संहिता लागु भएको छ ।
नयाँ ऐन लागु भएसँगै जुनसुकै मुद्दाको बहस तर्क तथा प्रमाण कागजातको आधारमा निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने जिल्ला न्यायाधीश धर्मराज पौडेलले बताएका छन् ।
जिल्ला अदालत सुनसरी बार एशोसिएसनको ४७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै आफ्नो कार्यकालमा सेवाग्राहीलाई निष्पक्ष न्याय सम्पादन गर्ने पौडेलले बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरूलाई मुलुकमा लागु भएको नयाँ कानुनको बारेमा जानकारी गराउनुपर्ने आवश्यकता औंल्याए ।
जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले नयाँ ऐन कार्यान्वयनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता हेमराज पोखरेलले मुलुकमा नयाँ कानुन लागु भएसँगै न्याय सम्पादनमा शुद्धता ल्याउनका लागि बार एशोसिएसनले ‘वाच डग’को रूपमा भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले ऐन कार्यान्वयनमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । वरिष्ठ अधिवक्ता अर्जुन मेहताले प्रहरीले घाउजाँच केस फारम लिन झण्झटिलो बनाएकाले सहजताका लागि बारले अग्रसरता देखाउनुपर्ने बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष शिवराज चौहान, निवर्तमान अध्यक्ष राजु ढकाल, नेपाल बारका उपाध्यक्ष केदार भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए ।