धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सोमबार अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजालासले उपकुलपति रौनियारलाई हटाउने निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको हो ।
गत फागुन १६ गते बसेको प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिश गरेको थियो । सो सिफारिशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २६ गते सदर गरेका थिए । रौनियार भने अभियोग प्रमाणित नभई पदबाट हटाइएको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।
अदालतले सरकारलाई उपकुलपतिबाट डा. रौनियारलाई हटाउनुको लिखित कारणसमेत माग गरेको छ ।