फाइल तस्बिर

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरूसँग कामको प्रगति माग गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरूलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रूपमा मन्त्रालयगत मन्त्रीले र मासिक रूपमा सचिवले प्रगति समीक्षा गर्नुपर्ने बताए ।

‘प्रत्येक मन्त्रीले पाक्षिक रूपमा प्रगति समीक्षा गर्नुहोस्’, मुख्यमन्त्री राईले निर्देशन दिँदै भने, ‘प्रत्येक महिना कामको प्रगति विवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गरौँला ।’ नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न पनि मन्त्री र सचिवहरूलाई मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् ।

उनले असारे विकासमा ध्यान नदिन सचिवहरूलाई निर्देशन दिँदै भने, ‘अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको हामीले अन्त्य गर्नुपर्छ । बलियो इच्छाशक्तिका साथ काम गर्न मुख्यमन्त्री राईले कर्मचारीलाई आग्रह गरे । कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति नबिगार्न उनले आग्रह गरे ।

अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, ‘उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु । यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकति पनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीलाई निर्देशन दिए ।

प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति समीक्षामा प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवलाई समन्वय गरेर काम गर्न निर्देशन दिए । ४÷४ महिनामा मन्त्रालयगत रूपमा समीक्षा बैठक हुुँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव भरतमणि रिजालले जनाए ।