विराटनगरः प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले धेरै बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाइ सेवा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रूपमा आयोजित ‘व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्र सतहसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालको व्यापार घाटा कम गर्नका लागि भए पनि बङ्गलादेशी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै १ सय ८ नेपाली उत्पादनलाई बङ्गलादेशले भन्सार सुविधा दिएको बताइन् ।

प्रदेशसभा सदस्य सूयर्माराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले समृद्ध मुलुकको निर्माणका लागि नेपालले बङ्गलादेशबाट धेरै कुरा सिक्नुपर्ने बताए । नेपालको व्यापार घाटा कम गर्न पर्यटन प्रवद्र्धन तथा चिया र अलैँची निर्यातलाई सहज बनाउनुपर्ने उनीहरूको धारणा थियो ।

सो अवसरमा विगत १० वर्षमा बङ्गलादेशले गरेको आर्थिक उन्नति र पर्यटन प्रवद्र्धन विषयमा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

udghatamm rajdut bangaladesh