विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘असत्यमाथि सत्यको विजयको रूपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो । रङको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको छु ।’

हाम्रा चाडपर्वले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संर्वद्धन गर्न अभिप्रेरित गरिरहेको सन्देशमा उल्लेख छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुशी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङमा रङ्गिएर हर्षोल्लासपूर्वक धुमधामले मनाउने गरेको मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ ।

‘यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने मैले ठानेको छु’, सन्देशमा मुख्यमन्त्री राईले भनेका छन्, ‘मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व हो ।’

यस पर्वले सबै नेपालीमा खुशीका रङहरू छर्दै नयाँ उत्साह र उमङ्गका साथ सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने उत्प्रेरणा हामी सबैमा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।