धरान/ बहुप्रतिक्षित धरानको खानेपानी आयोजनाले पिण्डेश्वर सबसिस्टम र सुम्निमा सबसिस्टमको रिजर्ब वेयरसम्म जंगलको बोरिङ गरेको पानी पु¥याउन सफल भएको छ ।
त्यसमध्ये पिण्डेश्वरको टंकी र पाइपलाइन सफा गर्न केही दिन लागे पनि सुम्निमा सबसिस्टमबाट पिउनयोग्य पानी वितरण गर्न सकिन्छ । तर, खानेपानी संस्थान र आयोजनाबीचको द्वन्द्वले सुम्निमा सबसिस्टमबाट संस्थानले आयोजनाको पानी नगरवासीलाई तत्काल वितरण हुने अवस्था छैन ।
संस्थान र आयोजनाबीचको शीतयुद्धको कारण संस्थानले आफ्नो पानीटंकीभित्र आयोजनाको पाइप जडान गर्न दिएको छैन । संस्थानले आयोजनालाई आफ्नो टंकीभित्र पानी आपूर्तिको पाइप इन्टर कनेक्सन गर्न नदिएकै कारण बुधबारदेखि पिउनयोग्य पानी संस्थान परिसरमा खेर गइरहेको छ । आयोजनाले दिएको पानी संस्थानले आफ्नो टंकीमा हालेर वितरण गर्ने हो भने धरानको अहिले देखिएको खानेपानी संकटलाई ठूलो राहत मिल्नेछ । ‘हामीले संस्थानको टंकी नजिकसम्म पानी पु¥याइदिएका छांै, त्यो पिउनयोग्य छ । अब संस्थानले खानेपानी बोर्डसँग समन्वय गरी प्रक्रिया मिलाएर नगरवासीलाई वितरण गर्दा धेरै राहत मिल्छ,’ आयोजनाका व्यवस्थापक राजु पोख्रेलले भने, ‘संस्थानले टंकीमा जडान गरेर पानी झारिदिने स्वीकृति दिएको भए आजै साँझबाट यो पानी नगरबासीले पिउन पाउँथे । त्यो अनुमति संस्थानले दिएको छैन ।’
पिण्डेश्वर सबसिस्टममा भने नयाँ रिजर्ब वेयर बनाएका कारण केही दिन वेयर र पाइपलाइन सफा गर्न समय लाग्ने आयोजनाको भनाइ छ । तर, सुम्निमा सबसिस्टममा भने नयाँ रिजर्ब वेयर नबनाइएको र संस्थानकै पानीटंकी उपभोग गरिने भएकाले तत्काल आयोजनाले उत्पादन गरेको पानी वितरण गर्न सकिन्छ । तर, संस्थान र आयोजनाबीचको द्वन्द्वले गर्दा उत्पादन भएको पानी पनि नगरबासीले पिउन पाउने छैनन् । धरानमा फागुनदेखि चैत अन्तिमसम्म चरम खानेपानी अभाव हुन्छ । अहिले धरानवासी पानी संकट झेलिरहेका छन् । सुम्निमा सबसिस्टमबाट आयोजनाले उत्पादन गरेको पानीलाई संस्थानले वितरण गर्ने हो भने धरानको ठूलो क्षेत्रमा राहत पुग्नेछ ।
खानेपानी संस्थानको धरान शाखाका कर्मचारी शुरुवातदेखि नै खानेपानी आयोजनासँग असन्तुष्ट थिए । उनीहरुले आयोजना निर्माण तथा कार्यान्वयनको क्रममा सहयोग गरेका छैनन् भने कर्मचारीहरुकै कारण खानेपानी व्यवस्थापन बोर्ड मातहत आइसक्नुपर्ने संस्थानको सम्पत्ति पनि अहिलेसम्म हस्तान्तरण भएको छैन । यही द्वन्द्वका कारण आयोजनाले जंगलबाट बोरिङ गरेको पिउन योग्य पानी संस्थानको टंकी नजिक पु¥याइदिँदा पनि नगरवासीले पिउन नपाई खेर गइरहेको छ ।
खानेपानी संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठ भने आफूहरुमा कुनै द्वन्द्व नभएको दाबी गर्छन् । आयोजना र खानेपानी बोर्डले पानी चलाउन स्वीकृति दिए केन्द्रीय कार्यालयसँग अनुमति लिएर आफ्नो टंकीमा जडान गरी वितरण गर्ने उनी बताउँछन् । ‘पानी हामीसम्म आइपुगेको हो, पिउनको लागि ठीक छ । आयोजनाले चलाउनुस् भन्यो भने केन्द्रीय कार्यालयसँग अनुमति मागेर चलाउँछौं,’ प्रमुख श्रेष्ठले भने । उता, खानेपानी बोर्डका अध्यक्ष एवं धरान उपमहानगरका मेयर तारा सुब्बाले नगरवासीको खानेपानी समस्या आफ्नो पहिलो प्राथमिकता भएको भन्दै संस्थानले प्रक्रिया पु¥याएर स्वीकृति मागे तत्काल निर्णय गरेर दिइने बताए । ‘हामीबाट कुनै बाधा अवरोध हुँदैन, जनताको समस्या समाधान पहिलो प्राथमिकता हो । तर, संस्थानले प्रक्रियागत रूपमा पानी चलाउनेबारे पत्राचार गरोस्, तत्काल स्वीकृति दिइन्छ,’ मेयर सुब्बाले भने ।
आयोजना अनुगमन समिति सदस्य एवं नेकपाका स्थानीय नेता चोत्लुङले असमझदारीलाई हटाउँदै पहिलो प्राथमिकतामा यसलाई राखेर सबै पक्षले तत्काल खानेपानी वितरणलाई सहज बनाउनुपर्ने सुझाव दिए । उनले भने, ‘पिउनयोग्य पानी टंकीसम्म पुगिसकेको छ, अब यो वा त्यो नभनेर सुम्निमा सबसिस्टममा हालेर त्यो पानी जनताको घरसम्म पु¥याउन सबै पक्षले ध्यान दिनुपर्छ ।’ विवादको कारण २ पटक म्याद थप भएको आयोजनाको डिजाइनअनुसार ५ वटा सबसिस्टममध्ये एउटा रेल्वे सिस्टम एक वर्षअघि सञ्चालनमा आइसकेको छ भने अब पिण्डेश्वर र सुम्निमा सबसिस्टम पनि सञ्चालनको तयारीमा छ । पिण्डेश्वर सिस्टम सफाइको कारण केही दिन समय लाग्ने भए पनि सुम्निमा सबसिस्टम भने संस्थानले चाहेमा तत्काल सञ्चालनमा आउन सक्छ । फुस्रे सबसिस्टममा ट्रिटमेन्ट प्लान्ट निर्माणाधीन छ भने विवादको कारण पञ्चकन्या सिस्टमको रिजर्बवेयर बन्नै सकेको छैन ।
सञ्चालनमा आएको रेल्वे सबसिस्टममा ३ वटा इनारबाट २४ घण्टामा ३१ लाख लिटर पानी उत्पादन हुने आयोजनाको भनाइ छ । यस्तै, पिण्डेश्वर र सुम्निमा सबसिस्टमको लागि ४ वटा इनारबाट ८० लाख लिटर पानी उत्पादन हुन्छ । धरानको खानेपानीको सतहगत मुख्य स्रोत सर्दू र खर्दू सुख्खा याममा सुक्ने भएकाले फागुनदेखि चैत महिनासम्म धरानमा खानेपानीको हाहाकार हुन्छ ।