इटहरी/ राज्यको चौथौ अङ्ग भनिने मिडिया क्षेत्रको आकर्षण बढ्दो छ । एकै ठाउँबाट धेरै ठाउँमा सूचना, सन्देश, मनोरञ्जन र समाचार दिने मिडियामा काम गर्नु भनेको समाचार भन्नु, बोल्नु र लेख्नु मात्रै होइन ।
अनलाइन, छापा र विद्युतीय माध्यमका विभिन्न सञ्चार माध्यममा समाचार बाहेकका थुप्रै काम हुन्छन् । त्यस्ता प्राविधिक क्षेत्रमा पार्टटाइम काम गरेर राम्रो आम्दानी गर्ने ठाउँ छन् ।
यी हुन् मिडियामा काम बढी र कामदार कम पाउने क्षेत्रहरू ः
१. ग्राफिक्स डिजाइनर ः ग्राफिक डिजाइनर भनेको पत्रिका, अनलाइन तथा टिभीमा राम्रो माग भएको काम हो । विभिन्न आँकडाको ग्राफ बनाउन, पत्रिका सेटिङ गर्न, कार्टुन बनाउन, विज्ञापनको आकर्षक डिजाइन गर्न सक्ने जनशक्ति मिडिया क्षेत्रमा कम छ ।
अन्य पेशा गर्नेहरुले पनि बेलुका बेलुका पत्रिका डिजाइन गर्ने, हरेक दिन घरमै बसेर कार्टुन बनाएर पत्रिकामा छापेर मासिक तलब थाप्ने तथा विज्ञापन एजेन्सीका लोगो तथा विभिन्न विज्ञापन डिजाइन गरेर राम्रो कमाउन सक्छन् ।
२. रेडियो प्राविधिक ः नेपाल दक्षिण एसियाको सबैभन्दा धेरै रेडियो भएको देश हो । यहाँ रेडियो मात्रै बढी छन् तर यसको सामान्य खराबी आउँदा चाहिने प्राविधिक भने भारतबाटै मगाउनुपर्ने बाध्यता छ ।
रेडियोका विज्ञापन बनाउने र सामान्य रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने बाहेकका दक्ष जनशक्तिको नेपालमा अभावै छ । रेडियोको टावर, ट्रान्समिटर र स्टुडियोको बारेमा जानकार व्यक्तिले नेपालमा राम्रो जागिर पाउँछ ।
३. भिडियो एडिटर ः नेपालमा बर्सेनि बढ्ने राष्ट्रिय तथा स्थानीय टेलिभिजनका लागि अत्यावश्यक भिडियो एडिटरको टड्कारो आवश्यकता छ । टिभी कार्यक्रम निर्माण गर्ने, अनलाइन टिभी वा अनलाइन पोर्टलका मल्टिमिडियामा काम गर्नेहरूले पार्ट टाइम वा फुल टाइम जसरी पनि कमाइ गर्ने क्षेत्र नेपालमा बढ्दो छ । सट फिल्म वा प्राङ्क भिडियो बनाउन पनि यो क्षेत्रको व्यापक माग छ ।
४. वेब पेज डिजाइनर ः आजकाल धेरै खुलेका अनलाइन समाचार साइट तथा अन्य रेडियो र टिभीले समेत इन्टरनेट पोर्टल बनाउने चलन भएकाले वेब पेज डिजाइनरको व्यापक माग छ । विभिन्न व्यापारिक, धार्मिक तथा सामाजिक संस्थाले पनि वेबसाइट खोल्ने प्रचलनले यो पेशाको भविष्य सुनिश्चित छ । देशमा वा विदेशमा बसेर पनि यो काम गर्न सकिन्छ । विदेशका ग्राहक खोजेर पनि देशबाटै काम गर्न पनि यो पेशामा दख्खल हुँदा अत्यन्तै सजिलो छ ।
५. एप डेभलपरः आजकाल मूलधारका मिडिया जस्तै अन्य क्षेत्रीय तथा स्थानीय मिडियाले पनि एपहरू बनाउन थालेका छन् । स्मार्ट फोनमा एप हालेपछि पलपलको खबर आफ्नो मोबाइलमै रहेको एपले देखाउने भएकाले यस्तो प्रविधिको प्रचलन बढ्दो छ ।
अत्यन्तै कम मान्छे पाउने यो क्षेत्रको कमाइ राम्रो छ । पार्टटाइम वा फुलटाइम काम गर्नेलाई यो पेशाले देश–विदेशका ग्राहकलाई सेवा सुविधा दिएर राम्रो कमाइ गर्ने बाटो दिन्छ ।
६. प्रेस अपरेटर/ मेकानिक ः नेपालमा सयौँ पत्रिका छापाखाना छन् । तर सामान्य मेसिन बिग्रँदा पनि दक्ष प्राविधिक नपाएर प्रेस सञ्चालक तनावमा हुन्छन् । त्यसैले पत्रिका छाप्ने प्रेस मेसिन चलाउन सक्षम र बिग्रेको बनाउन दक्ष प्राविधिकको बजारमा राम्रो माग छ । पार्ट टाइम गर्दा पनि यो कामबाट राम्रो कमाइ हुन्छ ।
७. अनुवादक तथा प्रुफ रिडर ः नेपालीमा बनेका टिभी कार्यक्रम तथा अनलाइन भिडियोलाई विश्व बजारसम्म लान अङ्गे्रजी सबटाइटलको जमाना छ । तर, दक्ष अङ्ग्रेजीका मान्छे कम हुनाले यो पेशामा राम्रो भविष्य छ ।
यस्तै नेपाली भाषाका प्रुफ रिडर पनि विरलै पाइन्छन् । अनलाइन तथा पत्रपत्रिकामा दक्ष प्रुफ रिडरले राम्रो कमाइ गर्न सक्छन् । कम्प्युटरको राम्रो ज्ञान भएकाले प्रुफ रिडरको काम गरेर पार्ट टाइम जागिर गर्न सक्छन् ।