विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पर्व (होली)ले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव कायम गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा बुधबार आयोजित होली पर्व–२०७५ शुभकामना आदानप्रदान कार्यक्रममा उनले यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताए । मुख्यमन्त्री राईले विविध चाडपर्व तथा संस्कृतिको संरक्षण गरेर समृद्धितर्फको यात्रामा अगाडि बढ्नु सबैको दायित्व भएको बताए ।

प्रमुख सचिव केदार न्यौपानेले सरकारले देश विकास गर्न लिएको सङ्कल्प पूरा गर्न सबैले एकजुट भएर अघि बढ्न पर्वले प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत सहभागी थिए ।

त्यस्तै, मन्त्रालयका सचिवहरू, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका संयोजकहरू, प्रहरी उपरीक्षकहरू, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरू र राष्ट्रसेवक कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।