विराटनगरः जीपी कोइराला फाउन्डेसनले होलीको अवसरमा विराटनगरस्थित फाउन्डेसनको कार्यालय कोइराला निवासमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नेतृ तथा जीपी कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले आगन्तुक अतिथिलाई अबिर लगाएर शुभकामना आदानप्रदान गरेकी थिइन् । सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश नं.१ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे सहभागी थिए ।

त्यस्तै, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका साथै सांसद, उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता एवं शुभचिन्तक र पेशाकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा फाउन्डेसनकी १ नं. प्रदेश अध्यक्ष इन्दिरा थापा र मोरङ जिल्ला अध्यक्ष कौशल निरौलाले आगन्तुक अतिथिलाई स्वागत तथा सम्मान गरेका थिए ।