उदयपुरः उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवनयापनमा सहज बनाउन उचित हुने ठानी सार्वजनिक बस किन्ने निर्णय गरेका छन् ।

जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामध्ये ४ वटा नगरपालिकाले यसअघि नै प्रमुख तथा उपप्रमुखका लागि गाडी किनिसकेको छन् भने ३ वटा गाउँपालिकाले पनि अध्यक्ष तथा उपाध्यक्षका लागि गाडी किनिसकेका छन् । लिङचुङबुङ गाउँपालिकाको शनिबार बसेको बैठकले भने गाउँपालिकाका जनताको सुविधाका लागि बस किन्ने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताए ।

जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची हुँदै हलेसी सडकमार्ग खण्डको लिङचुङबुङसम्म यातायात सञ्चालनको लागि बस किन्ने निर्णय गरिएको उनले जनाए । किन आफूहरूको सुविधा कटौती गरेर बस किन्ने निर्णय गर्नुभयो भन्ने प्रश्नको जवाफमा अध्यक्ष राईले विकट पहाडी क्षेत्रको गाउँपालिका भएकाले सदरमुकाम गाईघाट वा मुर्कुची बजारसम्म आवतजावतका लागि सहज होस् भनेर यस्तो निर्णय गरिएको बताए । पहिले जनताको सुविधाका लागि दुईवटा बस किन्ने उनले बताए ।

अहिले स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएका कारण जनताको स्थानीय सरकारप्रति वितृष्णा फैलिँदै गएको हुनाले पनि आफूहरूले सेवा सुविधा त्यागेर जनताका लागि काम शुरु गरेको गाउँपालिकाकी उपाध्यक्ष रमिला राई बताउँछिन् ।

उक्त गाउँपालिकाले अब छिट्टै २ वटा बस गाईघाट, मुर्कुची, माझखर्क लिङचुङबुसम्म सञ्चालन गरेर गाउँका जनतालाई आवतजावत गर्न सहज बनाउने कार्य शुरु गर्न लागेको बताइएको छ ।

गाउँपालिकाले सञ्चालन गर्ने बस नियमित सञ्चालनका लागि उदयपुरको रौतामाईको मुर्कुची बजारदेखि लिङचुङबुङसम्मको झण्डै २५ किलोमिटर सडक सुधारका लागि रु ३० लाख बजेट छुट्याइएको बताइएको छ ।