बेलबारीः बेलबारी नगरपालिकाले यही चैत १० गतेदेखि कार्यालय परिसरमा बोतलको पानी प्रयोग नगर्ने भएको छ । प्लाष्टिकको झोलामुक्त नगरको घोषणा गर्ने तयारी गरिरहेको नगरपालिकाले बोतलको पानी नखाने निर्णय गरेको छ ।

‘सफा र स्वच्छ नगरको परिकल्पनामा हामी लागेका छौँ’, नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘आफूले गरेको निर्णय आफैँबाट कार्यान्वयन गरौँ भनेर लागेका हौँ ।’ जेठ २२ गते विश्व वातावरण दिवसमा प्लास्टिकमुक्त नगर घोषणा गर्ने कार्यक्रम तय गरिएको मेयर सुवेदीले बताए । उनले सिसा तथा माटाका भाँडा प्रयोग गरिने पनि बताए ।

‘प्लाष्टिक होइन, विकल्प खोजौँ प्रदूषण होइन स्वच्छता रोजौँ’, भन्ने नारा नै दिएर नगरपालिकाले अहिले विभिन्न गतिविधि गरिरहेको छ । प्लास्टिकका झोलाले मानव स्वास्थ्यदेखि वातावरणमा समेत असर पु¥यारहेको छ’, मेयर सुवेदीले भने, ‘त्यसको विकल्पमा कपडाका झोला प्रयोग गर्न सकिन्छ ।’ अन्तरक्रिया, छलफल तथा प्रचारप्रसारका कार्यक्रम गरेर चेतना फैलाउने काम भइरहेको उनको भनाइ छ ।