झापाः स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले होमस्टे (घरबास) निर्माण कार्य शुरु गरेको छ ।

सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा ४ वटा सुविधा सम्पन्न होमस्टे बनाउन थालेको बताइएको छ । सरकारले सो सहकारीलाई चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ । उक्त रकम र सहकारीकोसमेतको लगानीमा घरबास बनाउन शुरु गरेको सहकारीका अध्यक्ष मीना ढकालले बताइन् ।

सहकारीले १ सय बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्न देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिकजसो आउने गरेका छन् । सहकारी अवलोकनमा आउने पर्यटकलाई स्थानीय परिकार सहकारीमै बनाएर खुवाए पनि बास बस्नका लागि दमक र बिर्तामोडका होटलमा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न घरबास बनाउन शुरु गरेको अध्यक्ष ढकालले बताए ।

उनले घरबासमा बस्ने पर्यटकलाई आफ्नै सहकारीको पोखरीका स्थानीय माछा, कुखरालगायत बारीमा उत्पादन भएको खानेकुरा खुवाउने बताए । अबको ३ महिनामा सो होमस्टे सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर १ मै सहकारीले सञ्चालन गर्ने होम स्टे यो नै पहिलो हुने संस्थाको दाबी छ । होम स्टेको क्षमता ४० जना अट्न सक्ने हुनेछ ।

होम स्टेमा बाह्य तथा आन्तरिक पर्यटकलाई नेपाली सांस्कृतिक परम्परा अनुरूप स्वागत, बसोबास र खानपानलगायतमा विशेष ध्यान दिने सहकारीले जनाएको छ ।