उदयपुरः सुनसरीको चतरा हुँदै उदयपुरको गाईघाट, सिन्धुली, हेटौंडा भएर राजधानी काठमाडौं जोड्ने मदन भण्डारी मार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेमा सडक बिस्तार गर्ने क्रममा चुहाडेको ज्योति उच्च माविसहित स्थानीयवासीको दर्जनौँ घरहरू नै भत्कने भएपछि सो मार्गको निर्माण कार्य अवरुद्ध भएको छ ।

मदन भण्डारी वैकल्पिक राजमार्ग निर्माण तथा बिस्तार गर्ने क्रममा त्रियुगा नगरपालिकाको चुहाडे खण्डमा सडक बिस्तार गर्ने क्रममा ज्योति उच्च माविको भवन पूर्ण रूपमा भत्कने र स्थानीयवासीको घर समेत भत्कने क्रममा चालीसौं करोड रुपैयाँ नोक्सानी हुने कारण विद्यालय तथा स्थानीयवासीले मुआब्जा माग गरेपछि सडक बिस्तार बन्द हुन पुगेको हो ।

ज्योति उच्च मावि चुहाडे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर दनुवारले सडक बिस्तारका क्रममा विद्यालयको रु ५ करोडभन्दा बढीको भवन पूर्ण रूपमा नष्ट हुने र स्थानीयवासीको दर्जनांै घर भत्कने कारण पहिला मुआब्जा व्यवस्थापन नगरी सडक विस्तार गर्न नहुने बताए ।

यस्तै ज्योति उच्च माविका शिक्षक राजेश कार्की विद्यालयसमेत भत्कने र गाउँका एक दर्जन घर भत्कने कारण विद्यालय कहाँ सञ्चालन गर्ने र गाउँले कहाँ बस्ने सो व्यवस्था नभई सडक विस्तार गर्न नहुने कारण मुआब्जा व्यवस्थापन हुनपर्ने बताउँछन् ।

धरान, गाईघाट, सिन्धुली, हेटाँैडा खण्डको पूर्वी सडक खण्ड हेर्ने कार्यालयका प्रमुख ललितजङ्ग खनालका अनुसार अहिले चुहाडे खण्डमा सडक बिस्तारमा समस्या देखिएको हो । आफूहरूले नेपाल सरकार र सम्बन्धित मन्त्रालय तथा विभागसँग समस्याको विषयमा छलफल गरिरहेकाले विद्यालय भवन तथा स्थानीयवासीको घरजग्गाको मुआब्जाको बारेमा चाँडै समस्या समाधान हुने उनले बताए ।

सडक निर्माण कम्पनी जेडआइसी शर्मा, लामा कम्पनीका सञ्चालक छिरिङ शेर्पा भने आफूहरू मुआब्जा उपलब्ध गराउन नसक्ने बताउँछन् । चुहाडे, गाईघाटसहितका स्थानीयवासी जनता भने सडक विस्तार गर्ने क्रममा सडक निर्माण कम्पनीले मनपरी सडक सर्भे र विस्तार गर्दा सरकारी कार्यालय भवन, विद्यालय र सर्वसाधारणका घर भत्काउनुपर्ने अवस्था आएको बताउँछन् ।

यता निर्माण कम्पनीले भने सडकको सर्भे र नक्साअनुसार नै सडक निर्माण र बिस्तार भइरहेका कारण आफूहरूको कुनै गल्ती नभएको दाबी गरेको छ । अहिले सो कम्पनीले सुनसरीको चतरा, उदयपुरको गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १ सय ४४ किलोमिटर सडक निर्माण गर्ने पुल निर्माण गर्ने र कालोपत्रे गर्ने कार्य समेत शुरु गरिसकेको छ ।

मदन भण्डारी वैकल्पिक राजमार्गअन्तर्गत पूर्वी खण्ड निर्माणका लागि रु ६ अर्बको बजेटमा सडक विस्तार, पुल निर्माण कार्य भइरहेको निर्माण कम्पनीले बताएको छ ।