इटहरीः गछिया जेसीजले २०७५ सालको फागु पूर्णिमाको उपलक्ष्यमा एकै दिन ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । चैत ७ गते सम्पन्न कार्यक्रममा होलीको माध्यमबाट सामाजिक भाइचारा अभिवृद्धि गर्ने काम गरिएको गछिया जेसीजका उपाध्यक्ष किरण अधिकारीले जानकारी दिए ।
बिहान १० बजेदेखि शुरु भएको कार्यक्रम दिनैभर चलेको थियो । सर्वप्रथम होली मिलन कार्यक्रम सम्पन्न गरेको अधिकारीले बताए । जहाँ समाजका प्रतिष्ठित व्यक्तित्वलाई होली खेलाएर भाइचारा अभिवृद्धि गर्ने काम भएको उनको भनाइ छ ।
त्यसपछि ट्राफिक सचेतनाका साथै जेब्राक्रसिङ बनाउने काम गरेको हो । त्यस्तै, गछिया चौकीलाई २५ थान फूलका गमला हस्तान्तरण गरी कार्यक्रम सम्पन्न भएको अधिकारीले जानकारी दिए ।
नेपाल जेसीजका उपाध्यक्ष अमिश ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफूले प्रतिनिधित्व गरेको गछिया शाखाले यस्तै रचनात्मक र प्रगतिशील कार्यक्रम गर्ने गरेकोमा गौरवान्वित भएको बताए ।
मदन दाहालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा गछिया लगायत आसपासका सुरक्षाकर्मी, बुद्धिजीवी, व्यापारी तथा नेताहरूको उपस्थिति रहेको थियो ।