इलामः इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।

‘चमैता सरोकार समाज’ को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरेको बताइएको छ ।

समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत् देश तथा विदेशमा रहेका चमैतावासीबाट रु १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले बताए । रु १० लाखमा एम्बुलेन्स खरीद गरिएको बताइएको छ । बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना रहेको उनले बताए । सो एम्बुलेन्स सेवाको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गरे ।