खोटाङः खोटाङ जिल्लाको उत्तरी क्षेत्रका स्थानीयको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारलाई व्यवस्थित गर्न थालिएको छ । लामो समयदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको उक्त बजारको होटल तथा पसललाई व्यवस्थित गर्न लागिएको हो ।
केपिलासगढी गाउँपालिका–४ स्थित प्राङ्गारिक कृषि उपज खरीद तथा बिक्री हुने उक्त बजार व्यवस्थित गर्न प्रदेशसभा सदस्य राजन राईको पहलमा प्रदेश नं १ सरकारबाट रु १ करोड बजेट विनियोजन भएको छ ।
अहिले २ सय ७३ छाप्रे होटल तथा पसल सञ्चालन हुँदै आएकामा उक्त छाप्रा हटाएर १ सय ७५ वटा स्टिल ट्रष्ट निर्माण गर्ने तयारी गरिएको हो । हरेक बुधबार हाट लाग्ने उक्त बजारमा सात फिट लम्बाइ र दश फिट चौडाइको आधुनिक स्टिल ट्रष्ट निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष सुमन गुरुङ बताउँछन् ।
आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण उपभोक्ता समितिसँग सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । उत्तरी क्षेत्रमा बसोबास गर्ने जिल्लावासीको प्रमुख व्यापारिक केन्द्र भएको र पछिल्लो समय उपभोक्ता तथा व्यापारीको चाप बढ्दै गएकाले व्यवस्थित गर्न थालिएको अध्यक्ष राईले बताए ।
८ रोपनी क्षेत्रफल ओगटेको सो बजारमा खानेपानीका दुई धारा, सुधारिएको बधशाला, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै ४ वटा सार्वजनिक शौचालय, बिजुलीबत्तीलगायत सुविधा उपलब्ध गराइने तयारी छ । बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापन तथा ढल निकासको कामसमेत यसै वर्ष गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
गाउँपालिकाको केन्द्रसमेत सोही ठाउँमा स्थापना भएपछि पछिल्लो समय बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । पुरानो संरचना मात्रै रहेको ऐतिहासिक स्थल बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप बढेपछि विशेषगरी खानेपानी तथा शौचालयको अभाव देखिएको थियो ।
बाक्सिला बजारमा प्राङ्गारिक कृषि उपज, असला माछा, कुखुराको भाले, सुँगुरको पाठालगायत खरीद तथा बिक्री हुने गरेको छ । घरायसी औजारमा कोक्रो तथा थुन्से, डोको, नाम्लो, नाङ्लो, डालो, भकारी, चित्रालगायत खरीद तथा बिक्री हुने गरेको छ ।
बाक्सिला बजारमा पाइने कृषि उपज तथा सामग्री खरीद गर्न खोटाङका अधिकांश स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुर, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तासमेत आउने गरेका छन् । उक्त बजारमा अन्य बजारमा पाइनेभन्दा प्राङ्गारिक तरकारी सुपथ मूल्यमा पाइने भएपछि टाढाटाढाका उपभोक्तासमेत बाक्सिला बजार आउने गरेको स्थानीय बताउँछन् ।
पर्यटकीयस्थल बाक्सिला बजारमा गाउँपालिकाको केन्द्र स्थापना भएसँगै सुविधासम्पन्न होटल तथा पसलसमेत स्थापना हुन थालेका छन् । पर्वतीय पर्यटनको राम्रो सम्भावना रहेकाले गाउँपालिकाको कार्यालय स्थापना भएसँगै बैंक तथा वित्तीय संस्थासमेत खुल्न थालेका छन् ।
पछिल्लो समय बाक्सिला बजार तथा गाउँपालिकाको केन्द्रसम्म सडक निर्माण गरेर यातायातसमेत सञ्चालनमा आएपछि आसपासका बासिन्दा नगदेबाली लगाउनाका साथै आर्यआर्जनका काममा व्यस्त हुन थालेका छन् । आफूले उत्पादन गरेको कृषि उपज सहजै बिक्री हुने भएपछि उनीहरू नगदेबादीतर्फ आकर्षित भएका हुन् ।
उक्त बजारको बीच भागमा बुद्धको सालिक छ । हिमाली शृङ्खला तथा उच्च पहाडी भूभाग अवलोकन गर्न सकिने बाक्सिला बजारको स्तरोन्नति हुने भएपछि स्थानीयको मुहारमा खुशी छाएको छ ।