विराटचोकः आफ्नो घर अघिको खेलमैदानको स्तरोन्नति हुन थालेपछि सुन्दरहरैंचा–१२ शुक्रबारेका स्थानीय दङ्ग भएका छन् ।
सुन्दरहरैंचा नगरपालिकाले वडा नं १२ शुक्रबारे बजार नजिकै रहेको शुक्रबारे खेलमैदानलाई नगर तथा वडाको यस वर्षको बजेटबाट स्तरोन्नतिको कार्यलाई अगाडि बढाएको छ ।
लगभग अढाइ बिघा क्षेत्रफलमा खेलमैदान फैलिएको छ । यो खेल मैदान स्थानीय महेन्द्र माविका विद्यार्थी र स्थानीयले गर्ने विभिन्न खेल प्रतियोगिता र व्यायामस्थलको रूपमा रहेको थियो ।
सुन्दरहरैंचा नगरपालिकाको १२ नं वाडा कार्यलयको ५ लाख र नगरपालिकाको १५ लाख रुपैयाँको बजेटमा स्तरोन्नतिको काम भइरहेको शुक्रबारे खेलमैदान उपभोक्ता समितिका अध्यक्ष टीकाप्रसाद सुवेदीले बताए ।
चैत २ गते नगरप्रमुख शिवप्रसाद ढकालले शिलान्यास गरेको यो खेलमैदानको २०७६ साल बैशाख ३० गते सम्ममा काम सम्पन्न गर्नेगरी काम भइरहेको अध्यक्ष सुवेदी बताउँछन् ।
खेलमैदान निर्माणका साथै बाँधको निर्माण समेत भइरहेकोले यो कार्यलाई स्थानीयले पनि विशेष महत्वका साथ हेरेको स्थानीय बताउँछन् ।